
विराटनगर ९ भदौ । ललितपुरको गोदावरीमा हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको तयारी तीव्र पारिएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार गोदावरीको हलको दुईपटक अनुगमन भइसकेको छ ।
हल व्यवस्थापन तथा मञ्च व्यवस्थापनको संयोजक विनोद श्रेष्ठ रहनु भएको छ । उहाँकै नेतृत्वमा गोदावरी हल व्यवस्थापनको कार्य चलिरहेको छ । ‘सचिवालय कहाँ राख्ने, मञ्च कसरी व्यवस्थाप गर्ने, स्वयं कसरी परिचालन गर्ने, स्वास्थ्यकर्मीको टीम कति खटाउने जस्ता काम धमाधम भइरहेको छ’, केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताउनुभयो । विधान महाधिवेशनको तयारीका निम्ति एमालेले विभिन्न उपसमिति बनाएर काम गरिरहेको छ ।
संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको नेतृत्वमा प्रतिनिधि व्यवस्थापनको काम भइरहेको छ । अति आवश्यक आवास व्यवस्थापनको जिम्मा लालबाबु पण्डितलाई दिइएको छ । यद्यपि एमालेले प्रतिनिधिहरूका निम्ति आवासको व्यवस्था गरेको छैन ।
प्रतिनिधिहरूबाट कुनै शुल्क नदिने, तर आवासको व्यवस्था आफैं गर्नुपर्ने निर्णय एमालेले गरेको छ । यद्यपि आफैं आवासको व्यवस्था गर्न नसक्नेहरूका निम्ति लालबाबु पण्डित नेतृत्वको टीमले आवश्यक व्यवस्था गर्नेछ ।
भिष्म अधिकारीको नेतृत्वमा खाद्य व्यवस्था र केन्द्रीय सचिवालय व्यवस्थापनको काम हुनेछ । प्रचार तथा प्रकाशन उपसमितिको संयोजन राजेन्द्र गौतम, मञ्च व्यवस्थापनको संयोजन विनोद श्रेष्ठ, स्वास्थ्य व्यवस्थापन संयोजन कृष्णगोपाल श्रेष्ठ, स्वयंसेवक व्यवस्थापन संयोजन भानुभक्त ढकाल र सांस्कृतिक फाँटको संयोजन हेमराज राईले गरिरहनु भएको छ । ‘विधान महाधिवेशनको नारा र लोगो टुंगिन बाँकी छ । अरु कामहरू तीव्र पारिएको छ,’ प्रचार प्रमुख गौतमले भन्नुभयो ।