अनौपचारिक श्रमिक र सामाजिक सुरक्षाबारे विराटनगरमा परामर्श कार्यक्रम

विराटनगर, ४ भदाै । शान्तिका लागि साझा अभियान (कोक्याप) को आयोजनामा “अनौपचारिक श्रमिक र सामाजिक सुरक्षाः अवस्था, अवसर र चुनौती” विषयक परामर्श कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ ।

कार्यक्रममा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको अवस्था, उनीहरूलाई सामाजिक सुरक्षा योजनामा कसरी समावेश गर्ने भन्नेबारे छलफल गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले अनौपचारिक श्रमिकहरूलाई योजनामा ल्याउन ट्रेड युनियन, संघसंस्था र स्थानीय सरकारको सक्रिय भूमिकाको आवश्यकता औंल्याएका थिए।

सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रका ७७९ जना श्रमिकहरू मात्र आबद्ध भएको तथ्य प्रस्तुत गर्दै सहभागीहरूले अझै धेरै श्रमिकलाई समेट्न प्रचार–प्रसार, सहज प्रक्रियाकरण र प्रभावकारी समन्वय आवश्यक रहेको निष्कर्ष निकालेका थिए ।

कार्यक्रममा ट्रेड युनियनका प्रतिनिधिहरू टीका प्रसाईं, उपेन्द्र राय, कुमार कोईराला, गोविन्द कामत र सुरेश भगतले आ–आफ्ना धारणा राखेका थिए। गैरसरकारी संस्थाका मोरङ अध्यक्ष विष्णु शर्मा, ईन्सेकका मनोहर पोखरेल लगायतका समाजसेवीहरूले समेत अनौपचारिक श्रमिकहरूको जीवनस्तर उकास्न स्थानीय तहसँग सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए।

ग्रामथान गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि नमोनारायण माझीले अनौपचारिक क्षेत्रका श्रमिकहरूको हितका लागि पालिकाले उपयुक्त कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले स्थानीय सरकारको जिम्मेवारीमै आधारित कार्यक्रममार्फत श्रमिकहरूको सामाजिक सुरक्षामा पहुँच बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।

सामाजिक सुरक्षा कोष विराटनगरका प्रमुख दिपक भट्टले कार्यक्रमको सहजकर्ताको भूमिका निर्वाह गर्दै अनौपचारिक श्रमिकलाई योजनामा जोड्न कोषले गरिरहेका पहलहरूको जानकारी दिनुभयो।

कार्यक्रमको सञ्चालन र उद्देश्यबारे कोक्यापका कार्यक्रम अधिकृत प्रकाश परियारले जानकारी गराउनुभएको थियो।