मोरङ सुन्दरहरैचामा दुर्घटना गराउने कार चालक लखौटिया फेला परेनन्

विराटनगर, २८ साउन । मोरङको सुन्दरहरैंचा नगरपालिका–१, पचाममा दुर्घटना गराउने कार चालक घटना भएको चारदिन सम्म पनि पक्राउ परेका छैनन् ।

गएको आईतबार विराटचोकबाट तीब्र गतिमा विराटनगरतर्फ आइरहेको प्र ३–०१–०२३ च ८३०४ नम्बरको कारले आईतबार बिहान साढे ११ बजे साईकलमा सवार १३ बर्षीय बालक टीकाराम कार्कीलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा विराटनगरस्थित नोवेल शिक्षण अस्पताल मृत्यु भएको थियो ।

मृतक बालक सुन्दरहरैंचा–१ पचामका रुद्रबहादुर कार्कीका छोरा हुन् । घटना भएको चारदिन तथा बालकको मृत्यु भएको तीनदिन बितिसक्दा पनि कार चालक पक्राउ पर्न नसक्नुले घटनालाई शंकास्पद बनाएको छ । घटनालगत्तै कार चालक भनिएका रोहित साह फरार छन् । कारलाई भने प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको छ ।

घटना गराएर दुर्घटनास्थलबाट फरार भएको कारलाई प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको हो । कार चालकको खोजी भईरहेको मोरङ प्रहरीका डिएसपी हस्तबहादुर सुनारले बताउनुभयो । उक्त कार विराटनगर महानगरपालिका ८ निवासी आशिष लखोटियाको भएको प्रहरीले जनाएको छ । प्रहरीले कारचालक रोहित साह भनेको छ तर दुर्घटनाको समयमा कार लखौटिया आँफैले चलाएको प्रत्यक्षदर्शी एवम् स्थानीयवासीको दाबी छ ।