
विराटनगर २६ जेठ । कोशी प्रदेश सरकार समक्ष रेडियो कार्यक्रमको निरन्तरताको माग गरिएको छ । नेपाल पत्रकार महासंघ कोशी प्रदेश र रेडियो सम्बद्ध संस्थाहरुले आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई रेडियो कार्यक्रम निरन्तरताको माग गर्दै ध्यानाकर्षण गराईएको हो ।
नेपाल पत्रकार महासंघ, कोशी प्रदेशका अध्यक्ष भरत खड्का, ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान), कोशीका उपाध्यक्ष अरविन्द मेहता र समुदायिक रेडियो प्रसारक संघ, कोशी प्रदेशका अध्यक्ष टेकबहादुर खड्काले संयुक्त रुपमा मुख्यमन्त्री कार्की र प्रदेश प्रमुख सचिव चन्द्रकला पौडेललाई बुझाईएको ध्यानाकर्षण पत्रमा रेडियो कार्यक्रम प्रसारणका लागि एफएम रेडियोहरूलाई सूचिकृत गर्न सार्वजनिक आह्वान भएको र त्यसअनुसार रेडियोहरु सूचिकृत भएपनि सम्झौता हुन नसकेको जनाईएको छ । ध्यानाकर्षण पत्रमा भनिएको छ,‘ सूचिकृत भइसकेका रेडियोसँग प्रसारण सम्झौता नगर्नु निष्पक्षताको सिद्धान्तविपरीत भएको महशुस गरेका छौं ।’
सूचिकृत सम्पूर्ण मिडियाहरूसँग पारदर्शी ढंगले यथाशिघ्र प्रसारण सम्झौता गरिदिन माग गरिएको छ । आगामी बर्षको वजेटको आकार बढाउँदै कार्यक्रमलाई निरन्तरता दिनसमेत माग गरिएको छ ।
कोशी प्रदेश सरकारबाट सञ्चालित ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम गत वर्ष परिमार्जन गरी ‘जनतासँग प्रदेश सरकार’ नाममा सञ्चालन हुँदै आएको थियो । रेडियो कार्यक्रमले प्रदेशका जनता र प्रदेश सरकार बीचको प्रत्यक्ष संम्वाद र प्रदेश सरकारले गरेका कामहरुको जानकारी दिने प्रभावकारी माध्यम बनेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।