अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अदालतको विषय: महामन्त्री थापा

विराटनगर २३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वप्रधानमन्त्री माधवकुमर नेपाल माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अदालतका विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ ।

विराटनगर विमान स्थलमा आज सञ्चारकर्मीहरुसँगको भेटघाटमा उहाँले पूर्वप्रधानमन्त्री नेपाल माथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरोस् भत्रुभयो । उहाँले नेपाली कांग्रेसको आगामी महाधिवेशन हुनु अगावै क्रियाशील सदस्यको विषय टुङ्गो लाग्नु पर्ने भन्दै हरेक नेताले आफ्ना निर्वाचन क्षेत्रको क्रियाशील सदस्यहरुको नवीकरण एवं सदस्यता छिनोफानो गर्नु पर्ने कुरामा जोड दिनुभयो ।

महामन्त्री थापाले नेपाली कांग्रेसका नेताहरुले आफ्ना जिम्मेवारी समयमै पूरा गर्नु पर्ने धारणा राख्दै सरकारको सफलताका निम्ति सम्पूर्ण प्रयत्न गरिरहेको बताउनुभयो । उहाँले सरकारले अपेक्षाकृत काम गरी जनताको मन जित्नु पर्ने बताउँदै सरकारले गरिरहेका कामको समीक्षा हुनु पर्ने धारणा राख्नुभयो ।