विराट युवा विचारक मञ्चद्धारा गणतन्त्र दिवसमा अन्तरक्रिया सम्पन्न

विराटनगर १६ जेठ । गणतन्त्र दिवसको उपलक्ष्यमा विराट युवा विचारक मञ्च विराटनगरले गणतन्त्र की राजतन्त्र विषय अन्तरक्रिया सम्पन्न गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसको युवा नेता अनुराज पाठक, नेकपा एमाले जिल्ला कमिटि सदस्य मिलन घिमिरे, डिग्री क्याम्पस विराटनगरका स्वभियु सभापति प्रितम साहले गणतन्त्रको पक्षमा आफ्ना विचार राखेका थिए ।

वक्ताहरुले राजतन्त्रमा जनताको अधिकार कुण्ठित भएको, शिक्षा, स्वास्थ्य सहित गुणस्तरीय जीवनको आधार तय गर्न नसकेको बताए ।युवाहरुले नै नेपालको राजनीतिक परिर्वतनमा महत्वपूर्ण भूमिका खेलेको र युवाहरुले नै गणतन्त्रलाई संस्थागत गर्नु पर्नेमा जोड दिए ।

वक्ता युवा नेताले नेपालको राजनीतिमा युवाहरुले रचनात्मक भुमिका खेलेर युवा नेतृत्वलाई अवसर सृजना गर्न सक्नु पर्ने बताए । नेपालको राजनीतिमा देखिएको समस्यालाई युवा पुस्ताले समाधान गर्दै राजनीतिक पार्टीलाई सुधार गर्दैजानु पर्ने र गणतन्त्रलाई थप सुदृढिकरण गर्नु पर्नेमा जोड दिए ।

अन्तरक्रियात्मक बहसमा एलिट क्लवका अध्यक्ष विश्वनाथ रिजालले विराट युवा विचारक मञ्चको पहिलो बार्षिकउत्वको शुभकामना ब्यक्त गर्नुको साथै सवल गणतन्त्रको विकासको लागि युवाहरुमा राजनीतिक संस्कार र आचरणमा सुधार गर्दै जानु पर्ने सुझाब दिनु भएको थियो ।

कार्यक्रमको सहजीकरण विराट युवा विचारक मञ्चका शशी शेखर भण्डारीले गर्नु भएको थियो र अध्यक्षता अभिषेक भट्टराईले गर्नु भएको थियो ।