मुलुकका हरेक क्षेत्रमा लैङ्गिक समानता कायम हुनुपर्छ : नेता डा कोइराला

विराटनगर १३ जेठ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकका हरेक क्षेत्रमा लैङ्गिक समानता कायम हुनु जरुरी रहेको बताउनु भएको छ ।

जिपी कोइराला लेबर फाउण्डेशन नेपालद्वारा आज विराटनगरमा आयोजित ‘लैङ्गिक समानता’ विषयक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले राजनीतिक दलहरुले लैङ्गिक समानतालाई व्यवहारमा उतार्न आफ्नो क्षेत्रबाट कार्य गर्नुपर्नेमा जोड दिनु भयो ।

नेता डा शेखर कोइरालाले समान कामको समान ज्याला भनिएपनि महिला श्रमिकहरुलाई दिने पारिश्रमिकमा भेदभाव भएकोले त्यसको अन्त्यका लागि ट्रेड युनियनले आवाज उठाउन सुझाव दिनु भयो । उहाँले पार्टीको केन्द्र देखि जिल्ला तहसम्म ट्रेड युनियनको प्रतिनिधित्वि हुनु पर्ने विगतदेखि आफुले माग गरेको चर्चा गर्दै यसबाट श्रमिकहरुलको हकहितमा युनियनले उठाएको माग पुरा हुने टिप्पणी गर्नु भयो । कांग्रेस केन्द्रीय सदस्यद्वय अमृत अर्याल र रामकृष्ण भट्टराईले आर्थिक उपार्जनमा वृद्धि गरी लैङ्गिक समानता कायम गर्नुपर्ने सुझाव दिनुभयो ।

फाउण्डेशनकी अध्यक्ष सुधा दाहाल, कांग्रेस मोरङका कार्यवाहक सभापति भक्ति माझी,ट्रेड युनियन कांग्रेसका नारायणबाबु कार्की, फाउण्डेशनका मातृका शिवाकोटीले फाउण्डेशनले विस २०६५ देखि महिला श्रमिकको हक अधिकारका क्षेत्रमा कार्य गरिरहेको जानकारी दिनु भयो ।

एक दिने उक्त कार्यक्रम महिला श्रमिकको संरक्षण, वैदेशिक रोजगार प्रशिक्षण, शिप प्रदान र सचेतना जस्ता कार्यक्रममा जिल्लाका एक सय जनाको सहभागिता रहेको छ ।