
विराटनगर, ११ जेठ । कोशी प्रदेश सरकारले प्रदान गर्दै आएको पुरस्कार दलीय भागबण्डामा वितरण नगर्न सरकारलाई सचेत गराउँदै समाजवादी प्रेस संगठन कोशीले निश्चित मापदण्ड र पारदर्शी प्रक्रिया अवलम्बन गर्न माग गरेको छ ।
संगठनले आइतबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यलाई ज्ञापन–पत्र बुझाउँदै पुरस्कार वितरण प्रक्रिया पारदर्शी, निष्पक्ष र मापदण्डयुक्त बनाउन आग्रह गरेको हो । संगठनका प्रदेश अध्यक्ष बन्धु पोखरेल नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कोशी प्रदेश सरकारले पत्रकारिता पुरस्कार जस्तो संवेदनशील विषयलाई समेत दलगत भागबण्डाको आधारमा वितरण गर्ने तयारी गरिरहेकोमा आपत्ति जनाएको छ ।
संगठनले अहिले विभिन्न क्षेत्रमा विकृति र विसङ्गति मौलाइरहेको अवस्थामा सञ्चार क्षेत्र पनि यसबाट अछुतो नरहेको औंल्याएको छ । संगठनले कोशी प्रदेशमा सरकारले सञ्चार क्षेत्रको सुदृढीकरणका लागि भनेर केही बजेट विनियोजन गरेको उल्लेख गर्दै, तर त्यो बजेट उद्देश्यअनुसार प्रयोग नभई विभिन्न आवरणका बिचौलिया तथा निकटस्थ व्यक्तिहरूको मिलिभगतमा दुरुपयोग हुने गरेकोमा चिन्ता व्यक्त गरेको छ ।
संगठनको ज्ञापन पत्र बुझ्दै मन्त्रालयका सचिव आचार्यले सरकारले प्रदान गर्ने पुरस्कार निश्चित मापदण्डका आधारमा हुनुपर्ने तथा विकृतिहरु रोक्नुपर्ने संगठनको मागलाई प्रदेश सरकारले गम्भीर रुपमा लिने बताएका छन् ।