विराटनगर, २१ असार । मोरङको जहदाका करिव तीन दर्जन किसानलाई कृषि सामग्री वितरण गरिएको छ । जहदा गाउँपालिका १ बुधनगरकोे जय किसान कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध रहेका ३३ कृषकहरुलाई कृषि सामाग्री बितरण गरिएको हो ।
मंगलबार संस्थाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी कृषि पशु सहकारी संस्थाको सहकार्यमा व्यवसायिक पशुपालन कार्यक्रम अन्तरगत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको सहयोगमा सो सामाग्री बितरण गरीएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको २५ लाखको सहयोग र जय किसान कृषि सहकारी संस्थाको ८ लाख ३५ हजारको लगानीमा जम्मा ३३ लाख ३५ हजारको समाग्री बितरण गरीएको हो ।
समाग्रीमा मोटर सहितको च्याफकटर २५ थान, दाना बनाउने मेशिन ८ थान कृषकलाई बितरण गरिएको छ । न्य समाग्रीमा भैसीको लागि गोठ मर्मत सम्भार सुधार समाग्री १४ थान, क्रिम सेपरेटर मेशिन १ थान, मिल्क एनालाइजर तथा कम्प्युटर प्रिन्टर १ थान र प्रयोगशालाको समाग्रीहरु रहेका संस्थाका ब्यवस्थापक बुद्धदेब यादवले बताए । उनका अनुसार जहदामा पहिलो पटक पशु प्रयोगशाला उद्घाटन तथा च्याफकटर र दाना बनाउने मिल बितरण गरिएको छ ।
कार्यक्रममा जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद शाहले सहकारी संस्थाले गरेको कार्यले कृषकहरुका लागि अत्यन्त लाभदायक भएको र गाउँपालिका समेत यस्ता कार्य गर्नमा अगाडी बढी सकेको बताए ।
कार्यक्रममा भेटेरिनरी अस्पतालका अधिकृत बडेलाल यादव, जहदा वडा नम्बर १ का वडाध्यक्ष बाबुराम राजबंशी, मिनप्रसाद सुबेदी, राजेन्द्रप्रसाद मण्डल, पंकजकुमार साह, सरितादेबी सरवरीया, राजकपुर यादव,शम्भु यादव लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम जय किसान कृषि सहकारी संस्थाका अध्यक्ष अनिलकुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।