
विराटनगर ९ जेठ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजतन्त्र पक्षधरहरूको हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ परेकाहरूमाथि अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार आज १०८ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने रायसहित सरकारी वकिलसमक्ष प्रतिवेदन दर्ता गरिएको हो । प्रहरीले यसका लागि ९० जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
सरकारी वकिल कार्यालयका प्रवक्ता गोकुलबहादुर निरौलाले प्रहरी प्रतिवेदनलाई अनुसन्धान र विश्लेषण गरेर आइतबारसम्म अभियोगपत्र दायर गर्ने बताउनुभयो । ‘४ जना बालबालिकासहित १०८ विरुद्ध पाँच कसुरमा मुद्दा प्रस्ताव गरिएको छ,’ निरौलाले भन्नुभयोे, ‘हामी अनुसन्धान गर्दै छौं । आइतबार अभियोगपत्र दायर हुन्छ ।’ प्रहरीले आपराधिक उपद्रव, संगठित अपराध, राज्यविरुद्धको कसुर, कर्तव्य ज्यानमुद्दा, ज्यान मार्ने उद्योग लगायतमा मुद्दा प्रस्ताव गरेको छ । ‘प्रहरीले बुझाएको प्रतिवेदन हेरफेर हुन सक्छ, आइतबारसम्म अभियोगपत्रमा उल्लेख गरेर हामी जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्छाैं, निरौलाले बताउनुभयो ।
प्रहरी प्रवक्ता बोहराका अनुसार प्रहरीले यस घटनामा आपराधिक उपद्रव र संगठित अपराधमा ६१ जना र राज्यविरुद्धको कसुरमा २९ जनामाथि अनुसन्धान गरिरहेको थियो । त्यसमध्ये आपराधिक उपद्रव, संगठित अपराधमा अनुसन्धानमा रहेका ३४ र राज्यविरुद्धको कसुरमा रहेका ३ जना हाजिरी जमानीमा छुटेका छन् ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री एवं सांसद धवलशमशेर राणालाई हाजिरी जमानीमा राखिएको छ । यस्तै, प्रदर्शनमा कमान्डरका रूपमा रहेका दुर्गा प्रसाईं भने हिरासतमै छन् ।