धनकुटाकी हिमा बस्नेत प्रदेशसभा सदस्यमा मनोनित

विराटनगर, २१ असार । धनकुटाकी हिमा बस्नेत (भट्टराई) प्रदेशसभा सदस्यमा मनोनित हुनुभएको छ । प्रदेश १ की एमाले सांसद गुलेफुन खातुनले राजीनामा दिएपछि रिक्त रहेको समानुपातिक सिटमा बस्नेतलाई मनोनयन गरिएको हो ।

सरकारी कागजात किर्ते गरेको अभियोगमा अदालतबाट सजाय भएपछि खातुनले राजिनामा दिएपछि समानुपातिक तर्फ एउटा सिट खालि भएको थियो । नेकपा एमालेको समानुपातिकबाट प्रदेश सभा सदस्य भएकी खातुनले २०७९ असार १५ गते देखि लागु हुनेगरि पदबाट राजीनामा दिएकी थिइन् । अल्पसंख्यक कोटाबाट बन्द सूचीमा अन्य महिला कोही पनि नभएको कारण खस आर्य कोटाबाट बस्नेत सांसद बन्नुभएको हो ।

नेकपा एमालेको प्रदेश १ समिति सदस्यसमेत रहेकी बस्नेतलाई निर्वाचन आयोगले हिजो पत्र दिएको एमाले नेता हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो । बस्नेतलाई आजको प्रदेश सभामा सपथ ग्रहण गराउने प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिनुभयो ।