उपभोक्ता हित संरक्षण मञ्च विराटनगरले सचेतना अभियान सञ्चालन गर्ने

विराटनगर ३१ वैशाख । उपभोक्ता हित संरक्षण मञ्च विराटनगर महानगर समिति उपभोक्ता सचेतना अभियान सञ्चालन गर्ने भएको छ ।

गत वैशाख २० गते केन्द्रीय अध्यक्ष ज्योति बानियाँको उपस्थितिमा नवगठित महानगर समितिले बजार अनुगमन तथा सचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको सदस्य राजेश गिरीले जानकारी दिनुभयो । गत वैशाख २० गते गठित महानगर समितिको अध्यक्षमा बोधराज घिमिरे, उपाध्यक्षमा राजेन्द्र प्रधान, सचिवमा सुनिलकुमार श्रेष्ठ, कोषाध्यक्षमा सुधा अर्याल सदस्यहरुमा शान्तादेवी अधिकारी, राजेश गिरी र भुवन राजवंशी रहनु भएको छ ।

नवगठित समितिले बैठक निर्णय अनुशार बजार अनुगमन तथा उपभोक्ता सचेतना कार्यक्रम सञ्चालनका लागि विराटनगर महानगरपालिका समक्ष आगामी आर्थिक वर्षका लागि बजेट माग गरिएको सदस्य गिरीले बताउनुभयो ।

विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीलाई आगामी आर्थिक वर्षको बजेटमा उपभोक्ता हित संरक्षण मञ्च विराटनगर महानगरलाई पनि समेट्न माग गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ विराटनगर महानगरपालिका स्थानीय राजपत्र बजार अनुगमन निर्देशिका अनुशार बजार अनगुमन तथा सचेतना अभियान सञ्चालनका लागि बजेट माग गरिएको हो ।’ उपप्रमुख कार्की यसमा सकारात्मक रहेको सदस्य गिरीले बताउनुभयो ।