
विराटनगर २७ वैशाख । नेपाल मजदूर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेले मुलुकमा राजतन्त्र पुनःस्थापना हुन नसक्ने बताउनु भएको छ ।
पार्टीको कोशी प्रदेश कमिटीद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले जनताले ठूलो संघर्षबाट हटाएका निरङ्कुश राजतन्त्र मुलुकमा पुनः फर्कने कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभयो । अध्यक्ष बिजुक्छेले विश्वका अधिकांश मुलुकमा राजसंस्था निरङकुश रहेको चर्चा गर्दै व्यापारी पूर्व राजालाई जनताले कुनै पनि हालतमा स्थापना नगर्ने बताउनु भयो । उहाँले वर्तमान सत्ताधारी पार्टीहरुले निर्वाचनमा समयमा सार्वजनिक गरेको घोषणापत्र अनुसारको कार्य गरि जनताको जीवनस्तर उकास्ने तर्फ लाग्नु पर्ने सुझाव दिनुभयो ।
अध्यक्ष बिजुक्छेले वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रम पुरानै परम्परावादी ढङ्गको भएको आरोप लगाउदै यसले जनताको जिवनस्तर र मुलुकको आर्थिक चलायमान कायम गर्न नसक्ने दावी गर्नु भयो ।
एक प्रश्नको जवाफमा अध्यक्ष बिजुक्छेले जनताले पार्टीलाई दिएको मताधिकार सरकारमा सहभागी हुन होइन प्रतिपक्षमा वस्न र जनताको समस्या उठाउन दिएको बताउनु भयो । उहाँले वर्तमान सरकारले विगत एक महिना अवधिमा पनि केन्द्रीय बैकको रुपमा रहेको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त नगर्न सक्नु लाजमर्दो भएको चर्चा गर्नुभयो ।
अध्यक्ष बिजुक्छेले सरकारले उत्पादनका साधनलार्य समाजीकरण गरिन योग्यता अनुसारको काम र काम अनुसारको ज्याला भुक्तानी गर्नुपर्ने सुझाव दिनु भयो । उहाँले सरकारले वर्तमान अवस्थामा जनतामा रहेको असन्तुष्टी समाधान तर्फलाग्नुपर्ने जोडदिदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनु नयाँ निर्वाचनको मिति घोषणा गर्नु आजको आवश्यक्ता भएको विचार राख्नु भयो ।