कोशी प्रदेशका मन्त्री राई विरुद्ध गृह जिल्लामा नाराबाजी

विराटनगर २५ वैशाख । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईविरुद्ध गृह जिल्ला खोटाङमा नाराबाजी भएको छ ।

नेपाली कांग्रेस कोशी प्रदेश समितिका महामन्त्रीसमेत रहेका राईविरुद्ध बिहिबार गृह जिल्ला खोटाङमा आफ्नै कार्यकर्ताले नाराबाजी गरेका हुन ।

खोटाङको साकेला गाउँपालिकामा कार्यकर्ता भेटघाटका लागि गएका राईले दादागिरी देखाएको भन्दै कांग्रेसकै कार्यकर्ताले उनी विरुद्ध नाराबाजी गरेका थिए । उनलाई साकेला गाउँपालिकाका अध्यक्ष रवी प्रकाश राईको नेतृत्वको टोलीले विरोध गरेको हो ।

मन्त्री राईले गृहजिल्लामा आफू खुसी काम गरेको र तल्लो स्तरका कार्यकर्ताहरूसँग समन्वय नगरी जथाभावी काम गरेको भन्दै आक्रोशित बनेका अध्यक्ष राईको टोलीले उनी विरुद्ध नाराबाजी गरेको हो । आफ्नै कार्यकर्ताको घेराबन्दीमा परेका राईलाई डिएसपी नेतृत्वको प्रहरी टोलीले सुरक्षा दिनुपरेको थियो ।

मन्त्री राईले दादागिरी देखाएको भन्दै नेपाली कांग्रेसबाटै गाउँपालिका अध्यक्षमा निर्वाचित रवि प्रकाश राईले उनलाई कार्यक्रम गर्नबाट रोक गरेका थिए । त्यसपछि मन्त्री राईले अर्काे स्थानमा कार्यक्रमको आयोजना गरेका थिए ।