
विराटनगर १६ वैशाख । मोरङको बुढीगंगामा सलाइन उद्योग स्थापना गरिएको छ । बुढीगंगा २ बाइपास रोडमा स्थापित एलेक्सा लाईफसाईन्सेज प्रालिले आगामी साउनदेखि उत्पादित सलाइन बजारमा ल्याउने तयारी गरेको छ ।
एक सय करोड लगानीमा शुरु गरिएको उद्योगले पहिलो चरणमा सलाईन पानी एक सय एमएल, ५ सय एमएल, एक लिटर र ३ लिटर उत्पादन गर्ने भएको छ । जर्मन प्रविधिको प्रयोग गरि सलाईन पानी, एक एमएल देखि २० एमएल सम्मका सिसाको सुई र आँखा तथा कानको औषधी उत्पादन गर्ने एलेक्सा लाईफसाईन्सेज प्रालिका अध्यक्ष दिनेश ठाकुर स्वर्णकारले जानकारी दिनुभयो ।
तीनवटै उत्पादन आगामी साउन देखि बजारमा आउने उहाँले बताउनुभयो । उहाँले एलेक्सा सञ्चालनमा आएपछि संभवत मुलुककै सवैभन्दा ठुलो र स्तरिय कम्पनी हुने उहाँको दावी छ । अध्यक्ष ठाकुरले भन्नुभयो,‘ सलाईन पानी सामान्य जस्तो सुनिएपनि विरामीको उपचारका लागि महत्वपूर्ण तत्व हो । यसलाई अत्यन्तै संवेदनशील र अत्यावस्यक औषधिको वर्गमा राखिएको छ ।’ विगत २५ वर्षदेखि सलाईनको उत्पादन तथा बजारीकरण र अस्पताल क्षेत्रमा हासिँल गरेको अनुभवलाई औषधि उत्पादनमा प्रयोग गर्नका लागि एलेक्सा सञ्चालनमा ल्याउन लागेको उहाँको भनाई छ ।
अध्यक्ष ठाकुरले विद्युत आपुर्ती नियमित नहुनु, उद्योग स्थापना गर्दा उद्योगमा प्रयोग हुने विभिन्न खालका सामग्रीमा चर्को भन्सार शुल्क असुल गरिनु, औषधि उद्योग प्यानमा कारोबार गर्ने प्रावधान रहेपनि सम्पूर्ण सामग्री खरिद गर्दा भ्याटमा गर्नुपर्दा लागत भार थपिनु मुख्य चुनौति रहको बताउनुभयो ।
औषधि उद्योग मार्फत देशको स्वास्थ्य क्षेत्रमा २ सय बढी प्रत्यक्ष तथा ५ सय बढी अप्रत्यक्ष रोजगारी सिर्जना गरिने उहाँले बताउनुभयो । आयातलाई केही हदसम्म भएपनि प्रतिस्थापन गर्ने लक्ष्य रहेको अध्यक्ष ठाकुरको भनाई छ ।
एभरेष्ट बैंकको वित्तिय लगानी रहेको उद्योगको सञ्चालकमा दिनेश ठाकुर स्वर्णकार र रञ्जीत भगत रहनु भएको छ । उद्योगमा हालसम्म ७५ करोड लगानी भईसकेको छ । बार्षिक करिव ६० अर्वको बजार रहेको औषधि क्षेत्रमा ६० प्रतिशत हिस्सा विदेशी कम्पनीले आगटेको अध्यक्ष ठाकुरले जानकारी दिनुभयो ।