
विराटनगर १४ वैशाख । मातातीर्थ औंशीको अवसर पारेर राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) विराटनगर महानगर कमिटीले मानव सेवा आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई विशेष भोजन व्यवस्था गरेको छ ।
आश्रममा रहेको आश्रित रहेका आमाहरूलाई सम्मान गर्दै यो विशेष कार्यक्रम आयोजना गरिएको नाबुन विराटनगरकी अध्यक्ष बसन्ती गुरुङले बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकहरू हाम्रो समाजका लागि अमूल्य सम्पत्ति भएको बताउँदै समाजमा ज्येष्ठ नागरिकहरूको योगदानलाई सदैव सम्मान गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
नाबुनकी केन्द्रीय सचिवालय सदस्य ममता प्रधानले सुन्दर संसारमा ज्येष्ठ नागरिकहरूको अथक योगदान रहेको बताउँदै आजका दिन हामीले उहाँहरुलाई भोजन गराउन पाउँदा हामी धन्य भएका बताउनुभयो ।
कार्यक्रममा नाबुनकी केन्द्रीय सदस्य गंगा तामाङ, कोशी प्रदेश अध्यक्ष कला डाँगी, कोषाध्यक्ष अमिता पोखरेल, पूर्व उपाध्यक्ष ललिता धिमाल, प्रदेश सदस्य मन्दिरा भट्टराई, नाबुन विराटनगरको निर्वतमान अध्यक्ष भली सुब्बा लगायत विभिन्न सौन्दर्यकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
मानव सेवा आश्रममा रहेका ६५ जना ज्येष्ठ नागरिकहरूले नाबुनको यस पहललाई प्रशंसा गरेका छन ।
आश्रमकी पार्वती तिवारीले नाबुनको यस पहललाई धन्यवाद दिनुभयो । समाजका विभिन्न वर्गले यसरी नै सहयोग र समर्थन गरेमा ज्येष्ठ नागरिकहरूको जीवन सहज हुने उहाँले बताउनुभयो ।