माओवादी विराटनगर महानगर अधिवेशन, उद्घाटनको ७ दिनपछि मतदान, पदाधिकारीमा जनार्दन समूहको प्यानलनै विजयी

विराटनगर १३ वैशाख । नेकपा माओवादी केन्द्र विराटनगर महानगरमा जनार्दन शर्मा समूहको प्यानलनै आएको छ । वैशाख ७ गते माओवादी अध्यक्ष पुष्ष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको अधिवेशनको नेतृत्व चयनका लागि शनिबार (आज) मतदान भएको हो ।

प्रचण्ड समूहकी अध्यक्ष पदकी उम्मेदवार नमिता न्यौपानेको पक्षमा सहमति नजुटेपछि आज मतदान भएको छ । न्यौपानेलाई अध्यक्ष बनाउनकै लागि एक हप्ता सम्म नेतृत्व चयनमा ढिलाई गरिएको थियो । आज भएको मतदानमा दिनेशकुमार राजवंशी (देव) को प्यानल निर्वाचित भएको छ । राजवंशीले ४६ मत प्राप्त गरे । न्यौपानेले ३५ मत प्राप्त गरिन् ।

राजवंशीको समूहबाट उपाध्यक्षहरूमा चन्द्रबहादुर वन ३६, धर्मलाल माझी, सनोजकुमार निर्वाचित भएका छन् । उनीहरुले केमुना ओडारी(सारदा), चन्द्रबहादुर वन र शिवराम थन्दारलाई पराजित गरे । राजवंशी समूहबाटै सचिवमा सोनु केवट र सहसचिवमा दिनेशकुमार कामत निर्वाचित भए ।

कोषाध्यक्षमा भने मनिष सोनी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।

माओवादी केन्द्रको विधान अनुसार, कार्यसमिति सदस्यहरूले मतदानमार्फत पदाधिकारी चयन गर्ने प्रावधान रहेको छ । यस निर्वाचनमा ८१ जना कार्यसमिति सदस्यहरूले मतदान गरेका थिए ।