विराटनगर, १४ असार । सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा शतर्कता बढाइएको छ ।
बहाव बढेसँगै सुनसरी प्रशासनले नदीमा डुङ्गा चलाउन पूर्ण रुपमा रोक लगाएको छ भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै माछा मार्ने तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्नसमेत प्रशासनले प्रतिबन्ध लगाएकोे हो । नदीको जलस्तर बढ्दो क्रममा रहेसँगै प्रशासनले कोशीको बाँध तथा स्पर र नोज अनुगमनको कार्यलाई समेत निरन्तरता दिएको छ । साथै सम्भावित विपद् आइपरे खोज तथा उद्धारका लागि सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको छ ।
यद्यपी, प्रशासनले नदीको बहाव बढ्दो क्रममा देखिएपनि अहिलेसम्म कहीँ कतै खतरा भने नरहेको जनाएको छ । कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार सोमवारसम्म सामान्य अवस्थामा रहेको नदीको बहाव पछिल्लो २४ घण्टा यता भने बढ्दो क्रममा छ । पूर्वी भेगमा जारी अविरल वर्षासँगै कोशी नदीको जलस्तर बढ्दो क्रममा देखिएको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । नदीको बहाव बढ्दो क्रममा रहेपनि सबै तटबन्ध तथा स्परहरु सुरक्षित रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । उहाँले कहीँकतै कटानको खबर नरहेको जानकारी दिनुभयो ।
प्रजिअ यादवले तटीय क्षेत्रका बासिन्दालाई भने शतर्कता अपनाउन आग्रह गरिएको बताउनु भयो । यसैवीच मोरङको सुन्दरहरैँचामा खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा वडा नम्बर ६ मा गछिया खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको हो । खोलाले बगाउँदा सोही ठाउँका ५८ वर्षीय रामबहादुर बिकको मृत्यु भएको छ । खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा उनलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यस्तै विराटनगर महानगरको वडा नम्बर १, २, ४, ६, ७, ८, ११, १२, १६ र १९ नम्बर वडाका सयौं घरपरिवार डुबानमा परेका छन् । उनीहरूलाई प्रहरीले उद्धार गरिरहेको छ । विराटनगरको सिंघिया र केशलिया नदिमा आएको बाढी गाउँ पसेपछि यहाँका करिब १५ सय घरपरिवार डुबानमा परेका हुन् । मोरङका खोला आसपासमा रहेका पालिकाहरु बाढीको उच्च जोखिममा छन् । मोरङको विराटनगरसहित सुनवर्षी नगरपालिका, केराबारी गाउँपालिका, बेलबारी नगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान र बुढीगंगा गाउँपालिकाका विभिन्न बस्तीमा बाढीले डुबानमा पारेको छ ।
बाढी जोखिममा परेका पालिकाहरुले उद्धार र राहतको कार्यलाई तिव्र बनाएका छन् ।