
विराटनगर, १२ वैशाख । झार मार्न प्रयोग गरिने विषादी सेवन गरेका पुरुषको मृत्यु भएपछि विराटनगरको नोबेल शिक्षण अस्पतालमा आज (शुक्रबार) बिहानका राति हुलदंगा एवं तोडफोड भएको छ ।
विष सेवन गरेर अवस्था गम्भीर बनेका मोरङको कटहरी गाउँपालिका–१ चौधरी चोकका ४५ वर्षीय प्रमोद महतोको मृत्यु भएपछि अस्पतालको अवस्था असामान्य बनेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले विष सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
गम्भीर अवस्थाका महतोलाई उपचारका लागि बिहीबार साँझ ५ः३० बजेतिर विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो । कोशीमा सम्भव नभएपछि थप उपचारका लागि विराटनगर महानगरपालिका–४ स्थित नोबेल शिक्षण अस्पताल रेफर गरियो । नोबेलमा उपचारका क्रममा राति ११ बजेतिर महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारमा संलग्न रहेकी पत्नी अनितादेवी महतोले पतिले विष सेवन गर्नुको कारण आफूलाई थाहा नभएको बताएकी छन् ।
उपचारमा संलग्न चिकित्सकले पनि विषादी सेवन गरेका कारण महतोको मृत्यु भएको जानकारी दिएका छन् । महतोको मृत्यु भएपछि नोबेल अस्पतालमा ४०–५० जनाको संख्यामा भेला भएका आफन्त एवं छिमेकी शुक्रबार बिहानका राति १ः३० बजेतिर तोडफोडमा उत्रिएका थिए ।