विराट फुटसल च्याम्पियनसिप प्रतियोगिता हुँदै

विराटनगर १० वैशाख । कोशी प्रदेशको राजधानी विराटनगरमा विराट फुटसल च्याम्पियनसिप–२०८२ हुने भएको छ ।

मन्जिना फाउन्डेसन नेपालको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा वैशाख २२ गते देखि प्रतियोगिता सुरु हुने भएको हो । प्रतियोगितामा कोशी प्रदेशका ५ जिल्लाको सहभागिता रहने मन्जिना फाउन्डेसनका अध्यक्ष जतिन ताम्राकारले बताउनु भयो ।

ताम्राकारका अनुसार प्रतियोगितामा मोरङ , झापा , सुनसरी , धनकुटा र उदयपुरको जिल्ला टिमको सहभागिता रहने छ । युवापुस्तामा पछिल्लो समय फुटसलको क्रेज रहेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत फुटसल खेलमा सम्भावना देखिएकोले प्रतियोगिता आयोजना गर्न लागिएको ताम्राकारले प्रष्ट पार्नुभयो ।

ताम्राकारले फाउन्डेसनले यस भन्दा अघि कर्पाेरेट फुटसल प्रतियोगिता आयोजना गरिसकेको बताउँदै जिल्ला स्तरीय टोलीको सहभागितामा भने पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो हुने टोलीलाई ३१ हजार नगद सहित ट्रफी , मेडल र दोस्रो हुने टोलीलाई २१ हजार नगद ट्रफी , मेडल प्रदान गरिने छ ।

प्रतियोगिताको सम्पूर्ण खेल विराटनगर स्थित जम्बोरे फुटसलको कोर्टमा हुनेछ ।