ताप्लेजुङ घटनामा मृत्यु भएका सबैको सनाखत, घाईतेलाई काठमाण्डौं लगियो

विराटनगर ८ वैशाख । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा आज ४ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका चारै जनाको सनाखत भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका १० बस्ने सबिना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका १५ बस्ने ७० वर्षीय विनोद पौडेल, विनोद पौडेलकी श्रीमति ६९ वर्षीया सरिता पौडेल र चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० बस्ने अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराई छन् ।

सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा आज बिहान फुङलिङ नगरपालिका–१० को सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो । सो घटनामा परी ४ जनाको मृत्यु भएको र २ जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी भीमबहादुर दाहालले जानकारी दिनुभयो । करेन्ट लागेर घाईते भएका दुई जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

ललितपुर महानगरपालिका १० की ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीय छोरा भबिमय आचार्यलाई उपचारका लागि काठमाडौं लगिएको हो । जिल्लामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो ।