
विराटनगर ६ वैशाख । मोरङको उर्लाबारीस्थित सञ्चार क्लब नेपालको आफ्नै भवन निर्माण कार्य असुरु भएको छ । बुधबार उर्लाबारी–६ स्थित निर्माणाधीन बसपार्कको उत्तरतर्फ क्लबका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडाले भवनको शिलान्यास गर्नुभएको छ ।
भवन निर्माणका लागि चालु आर्थिक वर्षमा कोशी प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयबाट १० लाख रुपैयाँ र सामाजिक विकास मन्त्रालयबाट ७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
करिव साढे ४ करोड रुपैयाँ लागतमा सम्पन्न हुने उक्त भवन आधुनिक पूर्वाधारयुक्त तीन तले संरचना हुनेछ, जसमा बैठक, तालिम, गोष्ठी र सेमिनारका लागि आवश्यक सबै सुविधा रहने सेमिनार हलसमेत समावेश गरिनेछ ।
निर्माणाधीन बसपार्कको उत्तरतर्फ रहेको ६ कठ्ठा जग्गामा भवन निर्माण सुरु गरिएको हो । उर्लाबारीका समाजसेवी अमृत तामाङ, ज्ञानु बास्कोटा र जंगबहादुर कार्कीले क्लबलाई उक्त जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।
वि.सं. २०६० सालमा दुर्गा प्रसाद खतिवडाको अध्यक्षतामा स्थापना भएको सञ्चार क्लब नेपालले हाल उर्लाबारी–७ मा रहेको परोपकार सेवा केन्द्रको भवनबाट नियमित गतिविधि सञ्चालन गर्दै आएको छ ।
क्लबमा हाल ४१ जना सदस्य आबद्ध छन ।