हार अन्त्य होइन, नयाँ सुरुवातको अवसर : राम पोखरेल

विराटनगर ६ वैशाख । नेकपा एमाले विराटनगर महानगर कमिटीको उपाध्यक्षको प्रत्यासी राम पोखरेलले पराजय राजनीतिक यात्राको अन्त्य नभएको बताउनु भएको छ । उहाँले पराजयलाई अवसरको रुपमा लिनुपर्ने बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो पक्षमा मतदान गर्नेप्रति आभार व्यक्त गर्दै पोखरेलले भन्नुभएकोछ,‘ राजनीतिक यात्रामा हारलाई अन्त्य होइन, नयाँ सुरुवातको अवसर ठान्दछु ।’

महानगर कमिटीको दोस्रो ऐतिहासिक अधिवेशनअन्तर्गत निर्वाचनमा आफुलाई विश्वास, साथ र उत्साहपूर्वक समर्थन गर्नुहुने सम्पूर्ण प्रतिनिधिलाई धन्यवाद दिदै उहाँले चुनाव जित्न नसकेपनि प्रतिनिधि तथा अग्रजहरूबाट पाएको माया, भरोसा र प्रेरणाले आफुलाई अझ जिम्मेवार, आत्मनिर्भर र संगठनप्रति समर्पित बनाएको बताउनु भएको छ । उहाँले भन्नुभएको छ,‘ यो यात्रामा तपाईंहरूको हरेक शब्द, मत र साथ मेरो लागि अमूल्य रह्यो ।’

संगठन सुदृढीकरण, कार्यकर्ता सशक्तिकरण र जनभावनाको प्रतिनिधित्व गर्ने मार्गमा सधैं अग्रसर रहने उहाँले उल्लेख गर्नुभएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिँदै पार्टीले तोकेको मिसन ०८४ को लक्ष्य पूरा गर्न र समृद्ध विराटनगर निर्माणको दिशामा अग्रसरता देखाउँदै बिकास निर्माण एवं सुशासनको नेतृत्व गर्न नवनिर्वाचित महानगर नेतृत्व सफल रहोस् भन्ने कामना पनि गर्नु भएको छ । उहाँले भन्नुभएको छ,‘ खबरदारी सहितको रचनात्मक सल्लाह–सुझाव एवं सहयोग रहिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’

दोश्रो महानगर अधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी दिनुभएका पोखरेल ९ मतान्तरले पराजित हुनु भएको थियो ।