मोरङका उद्योगीहरुद्धारा अर्थमन्त्रीको राजीनामा माग

विराटनगर, ९ असार । मोरङका उद्योगी व्यवसायीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै आज सडक प्रदर्शन गरेका छन् । आर्थिक विधेयक २०७९-०८० ले उद्योगीलाई मर्कामा पारेको जनाउँदै उनीहरुले मोरङको बुढीगंगा गाँउपालिकास्थित विराटनगर धरान सडकखण्डको गोकुवा चोकमा प्रदर्शन गरेका हुन् ।

उद्योगीहरुले अर्थमन्त्री जनार्दन शर्माको आलोचना गर्दै राजीनामा माग गरेका छन् । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले जिआई वायर, वनस्पति घिउतेल, सेनिटेरी प्याड उत्पादनका उद्यागीहरुलाई मर्का पर्ने गरि आर्थिक विधेयक ल्याइएको बताउनु भयो । अध्यक्ष रिजालले विधेयकलाई सच्चाउनका लागि पटकपटक आग्रह गरिए पनि सुनुवाइ नहुँदा सडकमा उत्रिनुपरेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘सरकार छिमेकी राष्ट्रको उद्योगीलाई पोस्ने काममा लागेको छ । नेपालको उद्योग क्षेत्रलाई धराशायी बनाउन सरकार नै प्रयासरत छ ।’

उद्योग संगठन मोरङका अध्यक्ष शुयस प्याकुरेलले अर्थमन्त्रीदेखि राजनीतिक दलका नेताहरुले विधेयकको त्रुटि सच्याउने विषयमा छल गरेको आरोप लगाउनु भयो । अध्यक्ष प्याकुरेलले उद्योगीलाई मर्कामा पर्ने गरि काम गरिरहँदा प्रधानमन्त्रीले समेत आफ्ना मन्त्रीहरुको बचाउमा लाष्ेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘अहिले उद्योग धराशायी बनाउने क्रममा रहेका अर्थमन्त्रीदेखि कर्मचारीमाथि तथानाम गालीगलौच गर्ने मन्त्रीलाई समेत सरकारले बर्खास्त गर्न सकेको छैन । उद्योगी मारमा परिरहँदा प्रधानमन्त्री रमिते बन्नु भयो ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत उद्योगीका माग जायज रहेको बताएन पनि समस्या समाधानमा ध्यान नदिएको उहाँको भनाइ छ । उद्योगीसंँग खेलाँची नगर्न चेतावनी दिँदै प्याकुरेलले अर्थमन्त्रीदेखि राजनीतिक दलका नेताहरुले झुठो बोलेर बस्नु लाजमर्दो विषय भएको बताउनु भयो ।

गत वर्षसमेत अर्थमन्त्रीले दलाली गर्दै २४ वटा उद्योग बन्द गराएको आरोप उद्योगी पवन सारडाले लगाउनु भएको छ । कुनै एक व्यक्तिको लागि गरिएको यस निर्णयमा निर्णयकर्ता उद्योगी व्यवसायीको हत्यारा भएको उहाँको आरोप छ । विरोधका क्रममा उद्योगीसँगै श्रमिक र विभिन्न टे«ड यूनियनकर्मीहरुसमेत सहभागी रहेका थिए । गोकुवा चौकबाट सुरु भएको उद्योगी व्यवासायीको विरोध र्याली बाँसबारीसम्म पुगेर कोणसभामा परिणत भएको थियो ।

विरोध कार्यक्रम मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले संयुक्त रुपमा आयोजना गरेका हुन् ।