विराटनगर, ८ असार । मोरङको दक्षिण क्षेत्रमा मातृ तथा बाल बालिकामा देखिएको कुपोषण न्यूनिकरणमा पालिकाले विशेष बजेट छुट्याउनु पर्ने देखिएको छ ।
गरीवी, अशिक्षा चेतनाको कमिका कारण यस क्षेत्रमा गर्भवती महिलाको मृत्यु र बाल कुपोषण देखिएकोले स्थानीय तहले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने टड्कारो देखिएको सहभागीले सुझाव दिनु भएको छ । विश्व खाध्य कार्यक्रमको आर्थिक सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय मोरङ र नेपाल जनस्वास्थ्य तथा शिक्षा समूह(नेफेक)द्वारा मंगलबार विराटनगरमा आयोजित मातृ तथा बाल स्वास्थ्य र पोषण परियोजना जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले बालवालिका राष्ट्रका भोलिका कर्णधार भएका हुनाले गाउँघरमा उत्पादन हुने अन्न लगायत फलफुलको प्रयोगका सम्वन्धमा समाजमा जनचेतना जागृत गराउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा धनपालथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारु, जहदा गाउँपालिकाका उपाध्यक्ष हन्ना सोरेन, जहदा गाउँपालिका कार्यकारी अधिकृत शुर्वण घिमिरे, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सुरेश मेहता, नेफेकका अध्यक्ष सुशिलराज दाहाल, कार्यक्रम संयोजक सुधिर चिलवालले आगामी पुस्तालाई स्वस्थ्य र सक्षम बनाउन सबैले हातेमालो गरी पोषण कार्यक्रमलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनु भयो । अभिमुखीकरण कार्यक्रममा मोरङको दक्षिण पालिकाहरु कटहरी, धनपालथान, ग्रामथान,रंगेली, सुनवर्षी,जहदा र रतुवामाईका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय अधिकृत, शिक्षा, स्वास्थ्य र कृषि शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
प्रदेश नं १ मा उमेर अनुसार एक चौथाई वालवालिकामा कुपोषणमा रहेका छन् भने खिउटेपन १४ दशमलव ३ प्रतिशत रहेको सोही अवसरमा जानकारी दिइयो ।