
विराटनगर २९ चैत । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटको तयारी प्रारम्भ गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशका सचिवहरुलाई नीति कार्यक्रमका प्राथमिकता र बजेटका बारेमा निर्देशन दिनुभएको छ । सचिवहरूलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले नीति र कार्यक्रम राम्रो र प्रभावकारी हुनुपर्ने बताउनुभयो । उहाँले सरकारले ल्याउने नीति कार्यक्रम एकातिर र बजेट अर्काेतिर हुने प्रवृत्तिलाई अन्त्य गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो,‘नीति पनि हुन्छ कार्यक्रम पनि हुन्छ तर बजेटको तार्तम्य हुँदैन । यस्तो विषयले राम्रो सन्देश जाँदैन। यो तुरुन्तै रोक्नुपर्छ ।’
मुख्यमन्त्री कार्कीले काम कुरो एकातिर जस्तो पनि हुनुभएन आफ्नो स्रोत साधन र सामथ्र्यले भ्याएसम्म सुस्पष्ट नीति बनाउन निर्देशन दिनुभयो। नीति कार्यक्रम बनाउँदा आवधिक योजनालाई पनि अध्ययन गर्न र त्यसका विषयलाई ध्यान दिन पनि उहाँले जोड दिनुभयो । अबको नीति कार्यक्रम सडक बाटो र पुलपुलेसो मात्रै होइन मानवीय सूचाङ्कलाई ध्यान दिएर बनाउनुपर्ने आवश्यकता रहेको औल्याउँदै उहाँले स्वरोजगार उद्दमशीलता लगायतका विषयमा पनि ध्यान दिन निर्देशन दिनुभयो । ‘प्रतिनिधि केन्द्रित बजेट होइन अबका नीति कार्यक्रम र बजेट जनतामुखी हुनुपर्छ, उहाँले भन्नुभयो, ‘जनप्रतिनिधिका घर घडेरी र पहुँचवालाकोमा बाटो र सडक जोडिने खालको विकास हुनुहुँदैन ।’
प्रदेश सरकार स्थापना भएको सात वर्ष पुगिसकेकोले अब प्रदेश सरकारको स्थायी संरचना बनाउने गरी पनि काम थाल्नको लागि मुख्यमन्त्री कार्कीले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो,‘प्रदेश संरचना बनेको लामो समय भयो अब यसको स्थायी संरचना बनाउन भौतिक पूर्वाधार मन्त्रालय र सरोकारवाला मन्त्रालयले ध्यान दिएर काम गर्नुपर्छ।’
रोजगार उद्दमशीलता वृद्धि हुने र पर्यटन प्रवर्धन हुने खालका योजना ल्याएर प्रदेशको आर्थिक स्रोत वृद्धि गर्ने तर्फ पनि नीति कार्यक्रमले जोड दिनुपर्ने बताउनुभयो । नीति र बजेट बनाउँदा संघीय सरकारसँग समन्वय गर्न र स्थानीय तहलाई समेत जोड्ने गरी काम गर्न सचिवहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले लागत साझेदारीका कामहरूले प्रदेशको आम्दानी बढ्ने र सबैले कामको अपनत्त लिने भएकाले यस्ता योजनामा लाग्नुपर्नेमा जोड दिनुभयो ।