विराट हेल्थ कलेज विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्न सहमत

विराटनगर, ८ असार । विराटनगरको विराट हेल्थ कलेज विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्न सहमत भएको छ । विद्यार्थीसँग कलेजले चारित्रिक प्रमाणपत्र निर्धारित शुल्क भन्दा बढी लिएको पाईएपछि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्वमा आज विद्यार्थी, अभिभावक र कलेज प्रशासनवीच छलफल भएको थियो ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ( सिटिईभीटी) ले निर्देशन गरे अनुसार कोरोनाको समयमा भएको पढाई अवधिमा दिनुपर्ने १५ प्रतिशत छुटको विषयमा कलेज प्रशासन र विद्यार्थी विवाद भएको पाईएको छ । कलेजले विद्यार्थीलाई १५ प्रतिशत छुट वापत दिने भनेको १ हजार ५ पाँच कटाएर थप ६ हजार चारित्रिक प्रमाणपत्रको नाममा लिएको पाइएको अनेरास्ववियु मोरङका अध्यक्ष तुलसी घिमिरेले बताउनुभयो । त्रिपक्षीय वार्तापछि समस्या समाधान भएको उहाँले बताउनुभयो । छलफल पछि तीन बुँदे सहमति भएको छ ।

विद्यार्थीलाई चारित्रिक प्रमाणपत्र विना शुल्क उपलब्ध गराउने, कोेरोनाको समय अवधिमा भएको अनलाईन कक्षा बापतको १५ प्रतिशत छुट क्याम्पस प्रमुखसंग छलफल गरेर उपलब्ध गराउने र हाल सम्म विद्यार्थी बाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति भएको अध्यक्ष घिमिरेले बताउनुभयो । सहमतिमा अध्यक्ष घिमिरे, विराट हेल्थ कलेजका लेखा प्रमुख रामेश्वर कामत र अभिभावक कमल रेग्मीले हस्ताक्षर गर्नुभएको छ ।

सहमति पछि कलेजले अतिरिक्त रकम फिर्ता गरेको थियो । अतिरिक्त शुल्क फिर्ता लिए लगत्तै१५ जना विद्यार्थीले प्रमाणपत्र निकालिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।