कोशी पर्यटन वर्षको शुभारम्भ गरिदै

विराटनगर २७ चैत । कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर कोशी पर्यटन वर्षको आज शुभारम्भ गर्दै छ ।

कोशी प्रदेशको तीनजुरे मिल्के जलजले क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ गरिने भएकाे हाे ।

मूल आयोजक समितिका अध्यक्ष एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको पर्यटन प्रवर्धन गर्ने र पर्यटनबाट नै राष्ट्रिय पुँजी विकास गरेर समृद्धि हासिल गर्न सकिने महत्त्वपूर्ण लक्ष्यसहित पर्यटन वर्ष मनाउन लागेको बताउनुभयो ।

उहाँले कोशी प्रदेशमा धार्मिक पर्यटनको पनि उत्तिकै सम्भावना भएको र यसका माध्यमबाट प्रदेशलाई समृद्धिमा लैजान सकिने आशा व्यक्त गर्नुभयो ।

कोशी प्रदेश सरकारले भारतबाट आउने पर्यटकलाई असजिलो हुन नदिनका लागि नाकाहरूमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तयारीमा पर्यटकीय बस तथा सवारी साधनलाई स्टिकर लगाइदिने तयारी पनि गरेको छ । यस्तो स्टिकर लगाएको सवारी साधनमा आउने र जाने मिति तोकेपछि बीच बाटोमा अनावश्यक रूपमा झन्झट नदिने र चेक जाँच नगर्ने कोशी प्रदेश सरकारले तयारी गरेको छ ।

पर्यटन वर्ष भव्यताका साथ मनाउनको लागि कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको संयोजकत्वमा निर्देशन समिति निर्माण गरी कामलाई अगाडि बढाइएको छ ।

कोशी प्रदेश सरकारले पर्यटन कार्यालय काँकरभिट्टा र धरानलाई समेत यो कार्यमा परिचालन गरेको छ ।