मोरङको जहदाका अध्यक्षद्वारा शिक्षकका माग पूरा गर्न आग्रह

विराटनगर २४ चैत । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायत माग राख्दै आन्दोलनरत शिक्षकहरुको माग पूरा गर्न मोरङको जहदा गाउँपालिकाले आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई पत्र लेखेर शिक्षकका माग पूरा गर्न आग्रह गरेको हो ।

पालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साहले मन्त्री भट्टराईलाई पत्र लेखेर शिक्षक र कर्मचारीका मागहरुमा समर्थन जनाउँदै माग पूरा गर्न आग्रह गरेका छन् । शिक्षक आन्दोलनक कारण विद्यालयहरुमा नयाँ भर्ना अभियान र अरु शैक्षिक कार्यक्रमहरु प्रत्यक्ष प्रभाव परेको पालिका अध्यक्ष साहले पत्रमा उल्लेख गरेका छन् । शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै लामो समयदेखि शिक्षकहरु आन्दोलित छन् । पछिल्लो पटक नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि उनीहरुले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।

काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । शिक्षकहरुको आन्दोलनले एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण समेत प्रभावित हुँदा नतिजा प्रकाशनमा ढिलाइ हुने अवस्था छ ।

अध्यक्ष साहले शिक्षा मन्त्री भट्टराईलाई लेखेको पत्रमा भनिएको छ, ‘विद्यालयका नियमित कामकाज तथा गाउँपालिकाका शैक्षिक कार्यक्रममा पनि प्रत्यक्ष प्रभाव परेको र शैक्षिक सत्र २०८२ को भर्ना अभियान समेत तोकिएको समयमा सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएकोले शिक्षक तथा कर्मचारीहरूका जायज मागहरुमा समर्थन रहेको व्यहोरा जनाउँदै यथोचित मागहरु सम्बोधन गरी उच्च मनोबलका साथ काममा फर्कने वातावरण निर्माणका लागि अनुरोध छ ।’