इक्युवालिटि कप क्रिकेट : फाइनलमा मोरङ र सप्तरी भिड्ने

विराटनगर १९ चैत । चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट प्रतियोगिताको फाइनलमा मोरङ र सप्तरी प्रवेश गरेका छन् ।

लगातार दुई खेल जितेका मोरङ र सप्तरी एक खेल अगावै फाइनलको यात्रा तय गरेका हुन् । साविक विजेता मोरङले इलामलाई ९ विकेटले पराजित गरेको छ । लगातार दुई खेलमा जित हात पार्दै ४ अंक जोडेको मोरङ शिर्ष स्थानमा रहन्दै फाइनलको यात्रा तय गरेको हो । लगातार दुई खेलमा पराजीत इलाम प्रतियोगिताबाट बाहिरिएको छ ।

टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित २० ओभरको खेलमा १७ दशमलव ४ बलमा सवै विकेट गुमाई ६२ रनमा सिमित भयो । इलामका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् भने इलामले ४१ रन अतिरिक्त रन पाएको थियो ।

६३ रनको झिनो लक्ष्य पछ्याएको मोरङले ५ दशमलव ५ बलमा १ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । दोस्रो खेलमा सप्तरीले सिरहालाई ८ रनले पराजित गरेको छ । सप्तरीले खेलेको दुई खेलमा जित हात पार्दै दोस्रो स्थानमा यथावत रहेन्दै फाइनलमा प्रवेश गरेको छ । सिरहाले दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । टस जितेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २ रनको सामान्य योगफल तयार पारेको थियो ।

१ सय ३ रनको सामान्य लक्ष्य पछ्याएको सिरहाले पुरै ओभर खेल्दै ९ विकेट गुमाई ९४ रन बनाएको थियो । प्रतियोगितालाई म्यारिलीबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियान अन्तर्गत इक्युवालिटि कप क्रिकेट आयोजना भएको हो ।