इक्युवालिटि कप क्रिकेट सोमबारदेखि विराटनगरमा सुरु

विराटनगर १८ चैत । विराटनगरमा आजदेखि चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट ग्राउण्डमा आज भएको खेलमा सप्तरी र मोरङले विजयी शुरुवात गरेका छन् । पहिलो खेलमा सप्तरीले इलामलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय १७ रनको योगफल तयार पारेको थियो । इलामकी प्रियैका राई सर्वाधिक ४१ रन बनाइन् ।

सप्तरीकी सुस्मिता यादवले सर्वाधक २ विकेट लिइन् । १ सय १८ रनको लक्ष्य पछ्याएको सप्तरीले १४ दशमलव १ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । दोस्रो खेलमा मोरङले सिरहालाई ७ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरको खेलमा १२ दशमलव २ बलमा सवै विकेट गुमाउँदा ६० रनमा सिमित भयो । ६१ रनको झिनो लक्ष्य पछ्याएको मोरङले ९ दशमलव १ बलमा ३ विकेट गुमाउँदै लक्ष्य पार गरेको थियो ।

प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डेले गर्नुभएको थियो । प्रतियोगितामा कोशी प्रदेशका मोरङ र इलाम तथा मधेश प्रदेशका सिरहा र सप्तरीका महिला टिमहरू सहभागी छन् ।