विराटनगर १८ चैत । पूर्वाञ्चल विश्वविद्यालय र अमेरिकाको ईण्डियानामा रहेको पर्डु विश्वविद्यालयबीच अनुसन्धान, आविष्कार, सिकाइ र शिक्षण बिधिहरुको बारेमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयको विराटनगरस्थित डिनको कार्यालयमा आज पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. विजुकमार थपलिया र पर्डु विश्वविद्यालय अमेरिकाका कार्यक्रम निर्देशक डा. रमेश न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
दुई विश्वविद्यालयबीच प्राविधिक सहायताको बारेमा कार्य गर्ने, प्रशासनिक सहयोग गर्ने, अंग्रेजी भाषा सिकाइको प्रवद्र्धन गर्ने साथै विश्वविद्यालयको आवश्यकता अनुसार अन्य अनुसन्धानमुखी कार्यहरु गर्ने विषयमा पनि सम्झौता भएको छ । सो अवसरमा प्रर्डु विश्वविद्यालयका निर्देशक न्यौपानेले सम्झौतामा उल्लेखित विषयलाई व्यवहारमा लागू गर्ने प्रतिवद्वता जनाउदै आगामी कार्यक्रममा ३ बर्ष नेपालमा र २ बर्ष अमेरिकामा अध्ययन गरेर ५ बर्षमा स्नातक र स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गर्न सकिने बताउनुभयो ।
एकबर्ष नेपालमा र एकबर्ष अमेरिकामा अध्ययन गरि २ बर्षे स्नातकोत्तर कोर्ष गरेर युसको डिग्री प्राप्त गर्न सकिने गरी थप कार्यहरु हुन सक्ने उहाँले बताउनुभयो । यसकालागि दुबै विश्वविद्यालयका पाठ्यक्रमहरु अध्ययन गरी क्रेडिट आवर्स ट्रान्सफर सम्बन्धी आवश्यक व्यवस्था मिलाइने पूर्वान्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. थपलियाले जानकारी दिनुभयो ।
पूर्वाञ्चल विश्वविद्यालय र पर्डु विश्वविद्यालयबीच भएको सम्झौताकालागि काठमाडौंस्थित हिलसाईड कलेज अफ इन्जिनियरिङका प्रबन्ध सञ्चालक गोपीकृष्ण न्यौपानेले सहजीकरण गर्नुुभएको हो ।
आज भएको दुईपक्षीय सम्झौताले अमेरिकामा अध्ययन गर्ने विद्यार्थीहरु तथा कर्मचारीहरुले समेत नेपाल आएर छोटो अवधिको अध्ययन, तालिम, अनुसन्धान आदि बारे शिक्षा लिन र नेपाली विद्यार्थीहरु अमेरिका गएर सो अनुरुप शिक्षा लिन सक्ने बाटो खुल्ने विश्वास लिईएको छ ।