
विराटनगर १८ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ईद पर्वले नेपालीहरूलाई एकआपसमा एकतामा बाँधेर अघि बढ्न प्रेरणा मिल्ने बताउनुभएको छ ।
आज ईद उल फित्रको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले यो पर्वले एकआपसमा सद्भाव वृद्धि गर्दै सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको लक्ष्यमा समेत सहयोग पुग्ने बताउनुभएको छ ।
नेपालको संविधानले सबै जातजाति धर्म संस्कृतिको अधिकार स्थापित गरेको स्मरण गर्दै मुख्यमन्त्री कार्कीले सबै मिलेर संविधानको रक्षा गर्न लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
मुख्यमन्त्री कार्कीले ईद पर्वले शान्तिसहितको समृद्धिको यात्रामा सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभएको छ। नेपालको संविधानले सबैलाई समान दृष्टिकोणले हेरेको चर्चा गर्दै यसको रक्षा र संरक्षणको लागि जुट्न पनि यो पर्वले प्रेरणा दिने बताउनुभएको छ ।
नेपाल बहुजाति बहुभाषिक र बहुधार्मिक मुलुक भएकाले हाम्रो आफ्नै मौलिक परम्परा र संस्कृति रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले यसले गर्दा नै हामीलाई एकताको सुत्रमा बाँधेर हातेमालो गर्दै अगाडि बढ्न सहयोग पुगेको विश्वास व्यक्त गर्नुभएको छ ।