
विराटनगर १७ चैत । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पाँच दिन थुनामा राख्न अनुमति लिएको छ ।
उनीहरू पक्राउ परेको दिनदेखि नै त्यो अवधि गणना हुनेछ । अदालतले दिएको अनुमति अनुसार प्रहरीले अब उनीहरुलाई कम्तीमा मंगलबारसम्म थुनामा राख्न पाउनेछ ।
तीनकुने घटनामाथि अनुसन्धान गरिरहेको प्रहरीले मिश्र, जबरा लगायत ११ जनालाई राज्यविरुद्धको अपराधको आरोपमा मुद्दा चलाएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेका अनुसार, उनीहरूमाथि प्रारम्भिक अनुसन्धानपछि राज्यविरुद्धको कसुर आकर्षित हुने देखिएकाले त्यसमा म्याद थप गर्ने तयारी भइरहेको हो ।
ती बाहेक अरु ३१ जनालाई आपराधिक उपद्रव र संगठीत अपराधको अभियोगमा म्याद थप्न अदालतमा पेश गरिएको उनले बताए । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख अपिलराज बोहराका अनुसार, घटनामा संलग्नहरूका बारेमा सरोकारवालाहरूसँग जाहेरी र अरु सूचनाका लागि सार्वजनिक आह्वान भएको छ ।
प्रहरीले करिब एक सय जनाको हाराहारीमा पक्राउ गरेपछि अहिलेका लागि ४२ जनालाई मात्रै अदालतमा पेस गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । पक्राउ परेका स्वागत नेपाल लगायतहरुलाई भने प्रहरीले हाजिरी जमानीमा छाडेको छ ।