विराटनगर, ५ असार । ट्राफिक प्रहरीले सञ्चालन गरेको ‘रोड सेक्युरिटी चेकिङ कन्सेप्ट’ कार्यक्रमअन्तर्गत वैशाखयता प्रदेश १ मा चार हजार दुई सय १० वटा सवारीसाधन कारबाहीमा परेका छन् ।
प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडाका अनुसार वैशाखमा एक हजार आठ सय ७३ र जेठमा दुई हजार एक सय २८ तथा असारको पनि १, २ र ३ गते दुई सय नौवटा सवारीसाधनलाई कारबाही गरिएको हो । कारबाहीबाट २६ लाख ५५ हजार पाँच सय रूपैयाँ जरिवाना असुल गरिएको जानकारी उहाँले दिनु भयो । ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने सवारी साधनलाई ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाही गर्ने गरेको छ । कारबाहीअन्तर्गत एउटा सवारीसाधनलाई पाँच सय रूपैयाँदेखि एक हजार पाँच सय रूपैयाँसम्म जरिवाना लिने गरिएको छ ।
सडक सुरक्षालाई प्रभावकारी बनाउने र बढ्दै गइरहेको सवारी दुर्घटना कम गर्दै लैजाने उदेश्यले प्रदेश १ मा ‘रोड सेक्युरिटी चेकिङ कन्सेप्ट’अन्तर्गतको ट्राफिक कार्यक्रम व्यवस्थित हिसाबले सञ्चालन भइरहेको एसपी खतिवडाको भनाइ छ । मापसे, लाइसेन्स लगायत अन्य चेकजाँच भन्दा विशेष र भिन्न प्रकृतिको यो कार्यक्रम प्रदेशका विभिन्न ६ स्थानमा सञ्चालित छ । एसपी खतिवडाले धनकुटाको मुलघाट, सुनसरीको कोसी कटान, इनरुवा, झापाको ताराबारी, सुनसरीको दुहवी र इलामको किटेनीमा कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिनु भयो । उहाँका अनुसार २४ घण्टा नै सवारीसाधनमाथि चेकजाँच हुने यो कार्यक्रमलाई निरन्तरता दिनका लागि ट्राफिक प्रहरीको विशेष टोली परिचालन गरिएको छ ।
यो कार्यक्रममार्फत सार्वजनिक सवारीसाधनका चालक र यात्रुको ‘रिफ्रेसमेन्ट’, ढुवानीका साधनको ‘ओभरलोड’, चालक तथा सवारीसाधनको कागजपत्रको चुस्तता, ट्राफिक नियमको पालना, सडकमा गुड्ने सवारीको गति लगायतलाई विशेष ध्यान दिने गरिएको छ । ट्राफिक जनशक्ति कम भएकाले अन्य चेकजाँच परिस्थितिअनुसार मात्रै हुने गरे पनि यो कार्यक्रमअन्तर्गत भने २४ घण्टा नै चेकजाँच हुने गरेको छ ।
सडक सुरक्षालाई प्रभावकारी बनाउन, बढ्दो दुर्घटना न्यूनीकरण गर्न, ट्राफिक नियमको पालना गराउन, ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन, सडक सुशासन कायम राख्न, ‘ओभरलोड’का कारण सडक संरचनामा पुग्ने क्षतिको रोकथाम गर्न र सेवालाई चुस्तदुरुस्त बनाउन कार्यक्रमबाट सहयोग पुगिरहेको उहाँले बताउनु भयो ।