
विराटनगर १७ चैत । विराटनगरमा भोलिदेखि चौथो इक्वालिटि कप क्रिकेट प्रतियोगिता शुरु हुँदै छ ।
नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा चौथो संस्करणको ‘इक्युवालिटि कप क्रिकेट २०२५’ प्रतियोगिता आयोजना गर्न लागेको हो । आयोजकले आज खेल मैदानमा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट ग्राउण्डमा पत्रकार सम्मेलन गर्दै सोमबारदेखि खेल शुरु हुने जनाएको छ । विराटनगर महानगर प्रमुख नागेश कोइरालाले उद्घाटन गर्ने यस प्रतियोगितामा लिग चरणमा ६ र फाइनल सहित जम्मा ७ वटा खेल हुनेछन् ।
फाउण्डेशनका संयोजक मन्दिप साहका अनुसार प्रतियोगितामा कोशी प्रदेशका मोरङ र इलाम तथा मधेस प्रदेशका सिरहा र सप्तरीका महिला टिमहरू सहभागी हुनेछन् । चारै जिल्ला क्रिकेट संघले पठाएका टिमहरूबीच लिगको आधारमा प्रतिस्पर्धा हुनेछ । सोमबार दुई खेल हुनेछ । पहिलो खेल इलाम र सप्तरी बिच हुनेछ भने सोही दिन हुने दोस्रो खेल मोरङ र सिरहाबीच हुनेछ ।
फाउण्डेशनले म्यारिलिबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियान अन्तर्गत इक्वालिटि कप क्रिकेट आयोजना गर्दै आएको साहले बतानुभयो । फाउण्डेसनकी बोर्ड सदस्य स्नेहा गुवाजुले आफ्नो उत्पादन मोरङका सानु राजवंशी, निरु राजवंशी (काजल) र पूर्णिमा राजवंशीले ठुला प्रतियोगिता खेल्न पाएको बताउनुभयो । प्रतियोगिता आयोजनाका लागि साढे ६ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ ।