
विराटनगर १६ चैत । कोशी प्रदेशमा विपदको समयमा राहत र उद्धारका लागि सङ्घीय सरकारसँग एउटा हेलिकप्टर माग गर्ने निणर्य गरिएको छ ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा शुक्रबार बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले एउटा हेलिकप्टर यस क्षेत्रमा राख्ने गरि मागका लागि मुख्यमन्त्री मार्फत आग्रह गर्ने निर्णय भएको मन्त्रालयका उपसचिव कमल बहादुर थापाले जानकारी दिनुभयो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको अध्यक्षतामा बसेको बैठकले मनसुन पूर्व तयारी तथा प्रतिकार्यको रणनैतिक कार्ययोजना बनाउने, कार्यदल गठन गर्ने र एकद्वार प्रणालीबाट राहत वितरण गर्न कार्यविधि बनाउने निर्णय गरेको उपसचिव थापाले जानकारी दिनुभयो ।
प्रदेशमा विगत एक वर्षभित्र विपद्का घटना, पिडितहरुको उद्धार तथा राहत र क्षतिपूर्ति वितरणको स्थिति बारे जानकारी गराइएको थियो । एक वर्षको अवधिमा प्रदेशमा विभिन्न विपद्का घटनाबाट रु एक अर्व २९ करोड ३८ लाख बराबरको क्षति भएको बताइएको छ ।
बैठकमा प्रदेश सरकारका सचिवहरु, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरु, सरोकारवालाहरु र विपद् व्यवस्थापन समिति सम्बद्ध कर्मचारीहरुको सहभागिता रहेको थियो ।