
विराटनगर ११ चैत । प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिता मंगलबारदेखि सुरू हुने भएको छ ।
विराटनगर १९ वैजनाथपुर क्रिकेट मैदानमा हुने सो प्रतियोगितामा ६ वटा जिल्लाको सहभागिता रहेको छ । कोशी प्रदेशमा क्रिकेट खेलको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीकी सचिव शान्त जोशीले जानकारी दिनुभयो ।
चैत १६ गतेसम्म हुने प्रतियोगितामा ६ जिल्लाका क्यानमा आवद्ध खेलाडीहरुले भाग लिएका छन् । जसमा सुनसरी, झापा, आयोजक मिल्स क्रिकेट क्लब एण्ड एकाडेमी, मोरङ, इलाम र उदयपुर रहेको छ । उद्घाटन खेल इलाम र उदयपुर जिल्लाबीच हुनेछ । लिगको आधारमा यो प्रतियोगिता हुनेछ । क्यानसँग आवद्ध भएका ६ जिल्लालाई समेटिएको मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीका अध्यक्ष मुररी चौधरीले बताउनुभयो ।
प्रतियोगितामा विजेता हुने टिमलाई नगद १ लाख १ हजार रुपैयाँ र उपविजेता टिमलाई ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने एकेडेमीकी सचिव जोशीले बताउनुभयो । म्यान अफ द श्रीरिज हुने खेलाडीलाई १५ हजार, बेस्ट ब्याटमेन बेस्ट बलरलाई जनही ११ हजार पुरस्कार रहेकोछ ।
दैनिक हुने खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद २ हजार पाँच सय रुपैयाँ छ । यस प्रतियोगिताले कोशी प्रदेशको क्रिकेट क्षेत्रको विकासमा महत्वपूर्ण भुमिका खेल्ने सचिव जोशीको भनाई छ ।