
विराटनगर ८ चैत । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले विपन्न नागरिकका लागि उपचार सहायता सहायता रकम बाड्न सुरु गरेको छ ।
दुई वर्षदेखि रोकिएको उपचार सहायता रकम आजदेखि बाड्न सुरु गरेको हो । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालिरहेका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईका अनुसार २ हजार ५ सय ५६ जनाले उपचार सहायता रकम प्राप्त गर्नेछन् । उहाँका अनुसार सरकारले मृगौला प्रत्यारोपण गराउनेको हकमा एक लाख र अन्य कडा खालका रोगको उपचारका लागि ५० हजार रुपैयाँका दरले सरकारले आर्थिक सहायता प्रदान गर्नेछ । २ हजार ५ सय ५६ नागरिकलाई जम्मा १३ करोड २८ लाख २५ हजार ४३६ रुपैयाँका निकासा भएको छ ।
कार्यविधिमा मृगौला प्रत्यारोपण गर्नेलाई २ लाख र अन्य कडा खालका रोग लागेकाहरुलाई एक लाखका दरले सहायता उपलब्ध गराउने प्रावधान थियो । तर बजेट अभावमा सरकारले आधा मात्रै बाड्ने भएको हो ।
यसअघि प्रदेश सरकारले कडा रोग लागेका विपन्न नागरिकहरुलाई औषधी उपचार बापत आर्थिक सहायता प्रदान गर्नका लागि पाँच करोड बजेट विनियोजन गरेको थियो । अपुग रकम रकमान्तर गरी सहायता प्रदान गर्ने निर्णय भएको मन्त्री राईले बताउनुभयो ।
मन्त्री राईका अनुसार प्रकृया पुरा गरेर आएको क्यान्सर रोगको उपचार सहायताका लागि १ हजार ५०७ जना, मृगौला रोग लागेका ५३६ जना , मृगौला ट्रान्सप्लान्ट गर्नुपर्ने ८५ जना, मुटुरोग लागेका ३३१, कलेजो रोगका १५ थालासिमियाका ३ पार्किन्सनका ७ फोक्सोको १ स्पाइनलईन्जुरी ४१, हेड इन्जुरी २९ र मस्तिष्क घात भएका १ जनाले सहायता रकम प्राप्त गर्नेछन् । यो रकम मन्त्रालयले विरामीको खातामा पठाउनेछ ।
आर्थिक सहायताका लागि दुई वर्षयता विरामीले मन्त्रालयमा निवेदन दिएका थिए । बजेट नपुग्ने भन्दै चालु आर्थिक वर्षमा मन्त्रालयले सहायताको निवेदन दर्ता गरेको थिएन् । तत्काललाई पुराना निवेदनको भुक्तानी सुरु गरिएको मन्त्री राईले बताउनुभयो ।