
विराटनगर ७ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घरेलु उद्योगका कपडाको प्रवद्र्धन गर्न प्रदेशमा कार्यरत निजामती कर्मचारीहरुले प्रयोग गर्ने आवश्यक नीति निर्माण गर्ने बताउनु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी र महिला उद्यमी विकास समिति प्रदेश समितिद्वारा संयुक्त रुपमा विराटनगरको जैन भवन आजदेखि आयोजित तीन दिने ढाका महोत्सव –२०८१ को उद्घाटन गर्दै तराई,पहाड र हिमालमा कार्यरत कर्मचारीलाई उपयुक्त हुने कपडा घरेलु उद्योगले उत्पादन गर्नु पर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेशका विभिन्न पालिकामा रहेका सामुदायिक विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरुलाई घरेलु तथा ढाका कपडा प्रयोगका लागि आवश्यक सहयोग उपलव्ध गराउने समेत प्रतिवद्धता व्यक्त्त गर्नु भयो । उहाँले प्रदेश सरकार यस क्षेत्रका जनताको समृद्धिलाई पहिलो प्राथमिकतामा राखेको छ भन्दै प्रदेश सरकार स्थापनाको विगत सात वर्षको अवधिमा यस क्षेत्रमा ‘मिल्क होलिडे’ नभएको दावी गर्नु भयो । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको आवश्यक नीति तथा अनुदानले यस क्षेत्रमा दुध तथा दुधका परिकारहरुको उत्पादन वृद्धि भएको जानकारी दिनु भयो ।
मुख्यमन्त्री कार्कीले भन्नु भयो,‘नेपाल सरकारसँग ढाका उत्पादनका घरेलु उद्योगको प्रवद्र्धन र विदेश निकासीका लागि आवश्यक नीति बनाउनका लागि पहलको नेतृत्व गर्ने छु ।’ कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले ढाका कपडा उत्पादनलाई स्वदेशमा बजारीकरणमा सहयोग गर्न सबैसँग आग्रह गर्नु भयो ।
पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे, सामाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङ, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ढाका कपडा उद्योगको प्रवद्र्धन, वजारीकरण विकासका लागि नीजि क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत,महिला उद्यमी महासंघकी प्रदेश अध्यक्ष कमला श्रेष्ठ, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना ,महिला उद्यमी एवं कार्यक्रम संयोजक सरु केसीले ढाका कपडा उद्योगको विकास एवं प्रवद्र्धनका लागि उद्योगलाई चाहिने आवश्यक कच्चा पदार्थमा सरकारले अनुदान उपलव्ध गराउनुपर्ने बताउनु भयो । ‘नेपाली भेषभुषा,हाम्रो बोली, ढाकाको सारी चोली’ नाराका तीन दिनसम्म सञ्चालन हुने उक्त ढाका महोत्सवमा प्रदेशका १४ जिल्लाका घरेलु उद्यमीका ३० बटा स्टलहरु रहेका छन् ।