माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु हुँदै, कोशी प्रदेशबाट ८० हजार ९३४ विद्यार्थीले परीक्षा दिने

विराटनगर ७ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु हुँदैछ ।

बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको अन्तिम तयारी पूरा भएकाले ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसईई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिँदै भन्नुभयो,‘परीक्षाको सम्पूर्ण तयारी पूरा गरेका छौँ, सबै जिल्लाबाट परीक्षाको तयारी पूरा भएको र कुनै पनि केन्द्रमा कुनै समस्या नभएको जानकारी आएको छ । त्यसैले सबै परीक्षार्थीले भोलि बिहान ८ बजेदेखि आफ्नो परीक्षा केन्द्रमा पुगेर निर्धक्क भएर परीक्षा दिन सबैमा आह्वान गर्दछु ।’ यस वर्षको एसईई परीक्षामा पाँच लाख १४ हजार ७१ जनाले परीक्षा दिने उहाँले जानकारी दिनुभयो ।

गत वर्ष २०८० को एसईई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेको छ । यस वर्षको परीक्षामा जापानको एक परीक्षा केन्द्रमा २९ जना विद्यार्थीले एसईई परीक्षा दिने र काठमाडौँको केन्द्रीय कारागार र दैलेखका दुई कारागार तथा भक्तपुरको बालसुधार गृहबाट पनि विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । यस वर्षको एसईई चैत ७ गतेदेखि सुरु भएर १९ गते सम्पन्न हुने भएको छ ।

बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ भने न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् । परीक्षामा कोशी प्रदेशबाट ८० हजार ९३४ विद्यार्थीहरु सहभागी हुने कोशी प्रदेश शिक्षा निर्देशनालयका निर्देशक कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार साधारण धारतर्फ नियमित ६९ हजार ५०६, ग्रेडवृद्धि आठ हजार ४५१, प्राविधिक धारतर्फ नियमित दुई हजार ७११ ग्रेडवृद्धि २६६ र खुल्ला परीक्षार्थीतर्फ नियमित ३९६ तथा ग्रेडवृद्धि ३० छन् ।

कुल ३७१ केन्द्र लागि ३७१ केन्द्राध्यक्ष, ५४६ सहायक केन्द्राध्यक्ष, चार हजार ४५ निरीक्षक, ८०९ परीक्षा सहायक , एक हजार ६१३ सहयोगी र पाँच हजार ५६५ सुरक्षाकर्मी गरी १२ हजार ९४९ जनशक्ति परिचालन हुने निर्देशक पोखरेलले जानकारी दिनुभयो ।