विराटनगर, १ असार । गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा पार्टी नेतृत्वकै अन्तर्घातका कारण पराजय बेहोर्नु परेको भन्दै मोरङको सुन्दरहरैँचास्थित नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा तोडफोड र तालाबन्दी गरिएको छ ।
निर्वाचनको परिणामलाई लिएर आक्रोसित एवं असन्तुष्ट बनेको समूहले हिजो साँझ पार्टी कार्यालयमा तोडफोड र तालाबन्दी गरेको हो । काङ्ग्रेस नगर समितिको नियमित बैठकसमेत भाँडिएको छ । बैठक प्रत्येक महिनाको अन्तिम दिन बस्दै आएको थियो । पार्टीको सुन्दरहरैँचा नगर समितिका सभापति भक्तिप्रसाद सिटौलामाथि आफ्नै उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप लाग्दै आएको छ ।
काङ्ग्रेसको संस्थापनइतर एवं शेखर कोइराला पक्षीय सिटौला स्थानीय निर्वाचनका लागि मेयरको आकांक्षी हुनुहुन्थ्यो । पार्टीको नगर समितिले मेयरको उम्मेदवारका रुपमा सिटौलाको एकल नाम सिफारिस गरेको थियो । तर मेयरको टिकट भने संस्थापन एवं पार्टी सभापति शेरबहादुर देउवा पक्षीय नेता शिवप्रसाद ढकालले पाउनु भयो । सुन्दरहरैँचाका पूर्वमेयरसमेत रहनु भएका ढकाल २०७४ सालको निर्वाचनबाट नेकपा (एमाले)का केदारप्रसाद गुरागाईंलाई पराजित गर्दै मेयर बन्नु भएको थियो ।
गत वैशाख ३० मा सम्पन्न निर्वाचनमा भने गुरागाईंसँगै ढकाल पराजित हुनु भयो । ढकालको उम्मेदवारीलाई लिएर विवाद भइरहेका बेला चुनावमासमेत पराजित भएपछि संस्थापन पक्षले सिटौलामाथि अन्तर्घातको आरोप लगाउँदै आएको छ । सिटौलाले बोलाएको पार्टीको नियमित बैठकमा पनि चुनावमा विपक्षी उम्मेदवारलाई सघाएको र आफ्ना उम्मेदवारमाथि अन्तर्घात गरेको आरोप लगाउँदै उहाँको राजीनामा माग गरियो । त्यसलगत्तै बैठक स्थगित गरेर सिटौला बाहिरिनु भयो । सिटौलासहित उहाँ पक्षीय नेता कार्यकर्ता बाहिरएपछि संस्थापन पक्षले सुन्दरहरैँचा–९ स्थित पार्टी कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिदिएको हो ।