
विराटनगर, २८ फागुन । सञ्चार क्षेत्रमा महिला पत्रकारहरुको वृद्धिका लागि ‘सञ्चार गृह महिला मैत्री’ हुुनुपर्ने सुझाव सरोकारवालाहरुले दिनु भएको छ ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र नेपाल पत्रकार महासंघ मोरङद्वारा ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको आज यहाँ आयोजित ‘सञ्चार क्षेत्रमा पत्रकार महिलाहरुको अर्थपूर्ण सहभागिता सम्बन्धी अन्तरक्रियामा सहभागीहरुले महिला पत्रकारहरुको वृद्धिका लागि सञ्चार गृहले महिला पत्रकारहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलव्ध गराउन महासघले आवश्यक अनुगमन र पहल हुनुपर्नेमा जोड दिएका छन् ।
प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयकी राज्यमन्त्री सिर्जना राईले सङघीय गणतन्त्रलाई प्रवद्र्धन गर्न सञ्चार क्षेत्रमा महिला पत्रकारहरुको सङ्ख्या वृद्धि गर्नका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले समाजमा सञ्चार लगायत अन्य क्षेत्रमा महिलामाथि हुने विभेदको अन्त्यका लागि हामीसबै एकजुट भएर लाग्न आग्रह समेत गर्नु भयो ।
मन्त्रालयका सचिव हेमराज तामाङ्गले महिला पत्रकारहरुलाई न्युन पारिश्रमिकमा काम नगर्न आव्हान गर्दै मन्त्रालयले महिलाहरुका लागि फेलोशिप रकम वृद्धि गर्ने प्रतिवद्धता व्यक्त्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य कमल रिमाल, कोशी अध्यक्ष भरत खड्का मुख्यमन्त्री कार्यालयका प्रेस सल्लाहकार विक्रम लुइँटेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेश सल्लाहकार विवेक गौतम, मोरङ अध्यक्ष सुशीला पाठक, उपाध्यक्ष सन्तोष सिग्देल, तारा आचार्य, सचिव नेत्र पी अधिकारी लगायतले महिला पत्रकार र स्थानीय सञ्चार गृहको प्रवद्र्धनका लागि सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने सुझाव दिनु भयो ।
कार्यक्रममा महासंघका मोरङ पूर्व अध्यक्ष बन्धु पोखरेलले पत्रकारितामा महिला पत्रकारको स्थायित्व सवाल र कान्तिपुर टेलिभिजनका उप सम्पादक महाप्रसाद खतिवडाले सञ्चार क्षेत्रमा महिलाहरुको अर्थपूर्ण सहभागिता र भावी रणीनीति विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।