
विराटनगर २७ फागुन । उच्च अदालत विराटनगरले विराटनगरको मानगढ खानेपानी आयोजनाको नयाँ नेतृत्व चयनका लागि पुनः निर्वाचन गराउन आदेश दिएको छ ।
विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाअन्तर्गत मानगढ खानेपानी आयोजना सञ्चालित छ । उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्द र विष्णुप्रसाद अर्यालको संयुक्त इजलासले मानगढ खानेपानी आयोजनाको नयाँ नेतृत्वका लागि पुनः निर्वाचन गर्न रिट जारी गरेको हो ।
उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदिशप्रसाद भट्टका अनुसार जेठ १९ गते बिहान ९ बजेको अवस्थाबाट पुन प्रक्रिया सुरु गर्न रिट जारी भएको छ । अर्थात उम्मेदवार पुरानै रहनेछन्, मतदान पुन: हुनेछ । गत जेठ १९ गते विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्वका लागि निर्वाचन भएको थियो । वर्तमान अध्यक्ष रामबहादुर घिमिरे र लालमणि भट्टराई अध्यक्षका उम्मेदवार थिए । दुवै जना नेकपा (एमाले)मा आबद्ध छन् । खानेपानीको निर्वाचनमा एमाले मोरङ नेतृत्व २ धारमा बाँडिएको थियो ।
खानेपानी निर्वाचनकै विवादका कारण तत्कालीन महानगर अध्यक्ष सागर थापाको जिम्मेवारी खोसिएको थियो । अहिले थापा एमाले मोरङ जिल्लाको उपाध्यक्षमा निर्वाचित भइसकेका छन् । ५ हजार ९ सय घरधुरी सदस्य रहेको खानेपानी व्यवस्थापनका लागि मतदान हुँदा सबै मतदाताले मत हाल्न पाएनन् ।
मतदान गर्न नपाएका सदस्यका लागि जेठ २० गते समय तोकिए पनि विवादका कारण मतदान भएन । खसेको मतलाई गणना गर्नुपर्ने माग राख्दै दिव्यराज कट्टेलसमेत ३ जना उच्च अदालत पुगेका थिए । टंकप्रसाद खतिवडासमेत ३ जना पुनः मतदानको मागसहित अदालत पुगेका थिए । अन्तिम सुनुवाइका क्रममा सोमबार उच्च अदालतले कट्टेलसहित ३ जनाको रिट खारेज गरेको छ । खतिवडासहितको मागदाबी अनुसार नयाँ नेतृत्वका लागि निर्वाचन गर्न रिट जारी गरेको हो ।