
विराटनगर २५ फागुन । ‘स्रोहौं योजनाको कार्यान्वयन तथा समपूरक र विशेष अनुदान लगायतका विषयमा प्रदेश र स्थानीय तह लक्षित’ विषयक दुई दिने अन्तरक्रिया तथा गोष्ठि कार्यक्रम शनिबार विराटनगरमा सम्पन्न भएको छ ।
कोशी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कोशी प्रदेश योजना आयोगको समन्वय तथा राष्ट्रिय योजना आयोगको आयोजनामा भएको कार्यक्रम शुक्रबार र शनिबार विराटनगरमा सञ्चालन भएको थियो । कार्यक्रमको व्यवस्थापन स्वीस सरकार विकास सहयोग एसडिसी सहयोगमा हेल्भेटास मार्फत सञ्चालित प्रदेश सहयोग कार्यक्रमले गरेको थियो ।
कार्यक्रमको पहिलो दिन शुक्रबार मध्यमकालीन खर्च संरचना, मध्यमकालीन नतिजाखाका, मध्यमकालीन बजेट खाका तथा बजेट तर्जुमा अभ्यास सम्वन्धी जानकारी, राष्ट्रिय आयोजना बैंक मार्गदर्शन सम्वन्धी जानकारी, राष्ट्रिय आयोजना बैंक सूचना व्यवस्थापन प्रणालीको अभ्यास, चुनौति तथा स्थानीय आयोजना बैंक र प्रदेश आयोजना बैंकबीच अन्तरआवद्धताका संभावित क्षेत्र, अनुगमन तथा मूल्यांकन : भूमिका, विद्यमान व्यवस्था एवम् जिम्मेवारी, स्थानीय तहको मध्यमकालीन खर्च संरचना तर्जुमा लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
प्रस्तुत कार्यपत्रमाथि ४ वटा समूह विभाजन गरि छलफल गरिएको थियो । कोशी प्रदेशका १०३ पालिकाबाट २१३ जना भन्दा बढी पालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि समूह विभाजन गरेर छलफल गरिएको जनाईएको छ ।
फरक फरक ठाउँमा आयोजना गरिएको समूहगत छलफलमा राष्ट्रिय योजना आयोगका प्रतिनिधि, कोशी प्रदेश सरकारका प्रतिनिधि, कोशी प्रदेश योजना आयोगका प्रतिनिधि लगायतले सहजीकरण गरेका थिए ।
कार्यक्रमको दोस्रो अर्थात अन्तिम दिन शनिबार कोशी प्रदेशको दोस्रो आवधिक योजना, मध्यमकालीन खर्च संरचना तर्जुमा तथा आवधिक योजना सम्वन्धी अभ्यास र चुनौति, समपुरक तथा विशेष अनुदान सम्वन्धी कार्यविधि २०८१ र समपुरक तथा विशेष अनुदान सूचना व्यवस्थापन प्रणाली सम्वन्धमा जानकारी एवम् प्रमुख सवाल तथा चुनौति, बहुक्षेत्रीय पोषण योजना तेस्रोका मुख्य विषय, बहुक्षेत्रीय पोषण कार्यक्रम, प्रदेशमा समपुरक तथा विशेष अनुदानको अभ्यास तथा यसका चुनौति लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननिय प्रा.डा. शिवराज अधिकारी,सदस्य गंगादत्त अवस्थी, गीता कुमारी पौडेल अधिकारी तथा आयोगका विशिष्ट अधिकृतहरु र प्रदेश योजना आयोगका उपाध्यक्ष राजेन्द्र अधिकारी तथा सदस्यहरुले सहजीकरण गरेका थिए ।
कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्रीहरु, कोशी प्रदेश सभाका विभिन्न समितिका सभापतिहरु, प्रमुख सचेतकहरु, मन्त्रालयका सचिवहरु, राष्ट्रिय योजना आयोग, कोशी प्रदेश योजना आयोग लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।
आयोजना बैंक प्रदेशको योजनालाई व्यवस्थित गर्न र आफुलाई विधिमा बाध्न स्थापना गरिएको हो : मुख्यमन्त्री कार्की
दुई दिने अन्तरक्रिया तथा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी सरकारले प्रदेश योजना बैंकको अवधारणा लागू गरेको बताए । प्रदेश सरकारको आफ्नै आम्दानीको स्रोत नभएको र स्रोत बढाउन प्रदेशको आफ्नै आन्तरिक राजस्व कार्यालय स्थापना गर्ने तयारी गरिएको समेत जानकारी दिए ।
उनले योजना छनौट गर्ने, योजनालाई बैंकमा समावेश गर्ने, गाउँ गाउँमा गएर छलफल गर्ने, प्रदेश भित्रका आयोजनाहरुलाई समावेश गर्ने लगायतका यी कुराहरु गरेर आफुलाई थप व्यवस्थित गर्न र विधिमा बाध्नको लागि प्रयास गरेको बताए । ‘हामी आफु बाधिएनौं भने हाम्रा सिमित साधन स्रोतले सबै आवश्यकता पुरा हुन सक्दैनन्’, उनले भने, हामीसँग पैसा धेरै भयो भने वा साधन स्रोत धेरै भयो भने बैंकका योजनाहरु कार्यान्वयनमा गएर घट्दै जान्छन् । पैसा कम भयो भने योजना बैंकमा योजना थुप्रिन्छ । यो त हाम्रो स्रोत र जनशक्ति अनुसार हुन्छ । योजना बैंकमा आउने कुराले केही पनि विग्रदैन ।’
मुख्यमन्त्री कार्कीले नयाँ आर्थिक वर्ष वैशाखदेखि सुरु गर्न माग समेत गरेका छन् । उनले वर्षाका कारण विकासका काम प्रभावित हुने गरेकाले आर्थिक वर्ष साउनको सट्टा वैशाख १ देखि सुरु हुने व्यवस्था गर्न माग गरेका हुन् ।
कार्कीले सङ्घीय सरकारले प्रदेश सरकारलाई दिने अनुदान घटाए पनि प्रदेश सरकारले स्थानीय तहलाई दिने अनुदान नघटाउने स्पष्ट पारे । उनले सङ्घीय सरकारले धेरै बजेट कटौती नगरेको अवस्थाबाहेक प्रदेश सरकारले स्थानीय तहलाई दिने अनुदान नघटाउने स्पष्ट पारेका हुन ।
कार्कीले भने, ‘थेग्नै नसक्ने गरी सङ्घले बजेट घटाएको अवस्थाबाहेक प्रदेश सरकारले स्थानीय तहलाई दिने अनुदान नघटाउने पक्षमा हामी छौँ ।’ मुख्यमन्त्री कार्कीले पहाडबाट तराई क्षेत्रमा बसाइँसराइ गर्ने प्रवृत्ति रोक्न आवश्यक रहेको धारणा राखे । उनले विकासका पूर्वाधारलाई मात्र प्राथमिकतामा राख्दा पूर्वाधार बनेपछि त्यहाँका मानिस बसाइँ सर्ने प्रवृत्ति देखिएको बताए । उनले बसाइँसराइ रोक्न स्थानीय तहमै रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताए। कार्कीले प्रदेश, सङ्घ र स्थानीय तह मिलेर गाउँमै रोजगारी सिर्जना हुने कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको धारणा राखे ।
‘बसाइँसराइ रोक्न तीनै तहका सरकारबीच साझा प्रयास आवश्यक छ,’ उनले भने, ‘गाउँमै राम्रो आम्दानी गर्ने अवसर सिर्जना गर्न तीनै तहका सरकारले संयुक्त प्रयास थालौँ ।’ मुख्यमन्त्री कार्कीले २० हजारलाई रोजगारी दिने लक्ष्यसहित प्रदेश सरकारले कोशी प्रदेशका विभिन्न पहाडी जिल्लामा ४ सय किलोमिटर लामो ४ वटा पदमार्ग निर्माण सुरु गरेको जानकारी पनि गराएका छन् ।
त्यसैगरी आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले सरकारले बनाएका योजनाले जनताको आर्थिक अवस्था सुधार हुन्छ की हुदैन भन्ने कुरामा ध्यान दिनुपर्ने बताए । जनताको आयस्थर वृद्धिमा सघाउ पुगेन भने सरकारले निर्माण गरेका योजनाले सार्थकता नपाउने उनको भनाई छ ।
संघिय, प्रदेश र स्थानीय सरकारले एउटै योजनामा पैसा हाल्ने गरेको बताउँदै मन्त्री मगरले संघिय सरकारले सम्बन्धीत मन्त्रालयको तत् तत् मन्त्रालयमा रकम छुट्याईएको योजनाको जानकारी दिने र प्रदेशले पनि स्थानीय तहलाई जानकारी दिने गर्दा यस्तो समस्या नआउने बताए । ‘प्रभावकारी रुपमा सूचना आदान प्रदान गर्दा योजना डुब्लीकेशन हुने समस्या हट्छ’, उनले भने ।
संघिय सरकारले वैदेशिक सायता लिएर खर्च गर्ने, प्रदेशले संघिय सरकारसँग लिएर खर्च गर्ने र स्थानीयले प्रदेशसँग लिएर खर्च गर्ने परिपाटीले रहेको बताउँदै मन्त्री रानाले आफै आत्मनिर्भर हुने कोशिस गर्नुपर्नेमा जोड दिए । ‘राजनीतिक नेतृत्वले मागेर कसैले दिएनन् भने पनि प्रदेश वा पालिका चलाउन सक्छौं भन्ने तिर सोच्नुपर्छ’, उनले भने, प्रदेश तथा स्थानीय पालिकाले आत्मनिर्भर बन्न स्रोत खोजेर व्यवस्थापन गर्ने परिवर्तशिल सोँच लिएर अगाडि बढ्न नसके खर्च गर्न समस्या हुनेछ ।’
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले स्थानीय अर्थतन्त्र बलियो भयो भने राष्ट्रिय अर्थतन्त्र पनि बलियो हुने बताए । उनले राष्ट्रिय योजना आयोगले पनि परिमार्जित रुपमा काम गर्ने कोशिस गरिरहेको बताए । ‘हामी आवश्यकता हेरेर काम गर्न खोजिरहेका छौं’, उनले भने, ‘प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर आयोगले काम गर्छ ।’
प्रदेश योजना आयोग कोशी प्रदेशका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले प्रदेश योजना आयोगले रुपान्तरणकारी कार्यक्रमहरु समेट्ने जानकारी दिए ।
कार्यक्रम प्रभावकारी भएको सहभागिको प्रतिक्रिया
दुई दिने कार्यक्रममा सहभागिहरुले स्थानीय सरकारको लागि कार्यक्रम निकै प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् ।
कार्यक्रममा सहभागि कोशी प्रदेश सभा सुशासन तथा योजना समिति सभापति खगेश्वरी पौडेलले प्रदेश र स्थानीय सरकारसँग कसरी समन्वय गर्ने भन्ने कुराहरुको स्पष्ट जानकारी भएको बताईन् । उनले यो भन्दा अगाडि यस्ता कार्यक्रमहरुको खासै अनुभव नभएकाले पनि व्यक्तिगत रुपमा आफ्नो लागि निकै उपलब्धिमूलक बनेको धारणा व्यक्त गरिन् ।
प्रदेश सभामा मिनि संसदमा रहेर काम गरिरहदा तितो अनुभव रहेको बताउँदै उनले कतिपय कुराहरु सदनमा उठाउँदा पनि कार्यान्वयन नभएको बताईन । पालिकाहरुलाई बर्गीकरण गरेर काम गनुपर्ने बताउँदै पौडेलले कोशी प्रदेशमा १४ वटा जिल्ला भएकोमा ११ वटा जिल्ला पहाडी क्षेत्रमा भएका कारण ११ वटा जिल्लाले धेरै दुख कष्ट बेहोर्नुपरेकाले यी जिल्लालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिईन ।
कार्यक्रममा सहभागि सन्दकपुर गाउँपालिका इलामका अध्यक्ष तुलाराम गुरुङले २६ सय ३६ मिटरको उचाईमा रहेको पालिकाको अध्यक्ष भएको यो दुई दिने अन्तरक्रिया कार्यक्रममा सहभागि भईरहदा सिक्नुपर्ने धेरै कुरा बाँकी रहेछ भन्ने महसुस भएको बताए । ‘धेरै कुरा सुन्न पायौं, नजानेको कुरा सिक्न पायौं त्यसप्रति आयोजक, समन्वयकर्ता, व्यवस्थापक र सहजीकरण गर्ने व्यक्तित्वहरु लगायत संलग्न सबैलाई धन्यवाद व्यक्त गर्दछु’, उनले भने, यस्ता कार्यक्रमले हामीलाई पुर्नताजकी गर्छ र काममा सघाउ पनि पुग्छ ।’
‘योजना कहाँबाट बन्छ भन्दा माथिबाटै माथिबाटै भन्ने कुराले हामी गुर्जिरहेका छौं’, उनले भने, ‘तलबाट हामी स्थानीय तहको जनप्रतिनिधि स्थानीय जनतासँग संगै हिड्ने र उनीहरुको समस्या बुझ्ने भएको हिसाबले सबै भन्दा समस्या तलको सरकारलाई भएको छ । माथिबाट आउने योजना आएपनि कार्यान्वयन गर्न समस्या हुने भएको छ ।’ स्थानीय तह संघिय संरचनाको कङक्रिंड जग भएकाले तलको जग राम्रो भए मात्रा संघिय संरचना सफल हुने उनको धारणा छ । उनले अझै पनि स्थानीय सरकार सिकाईको समयमा नै रहेकाले सिक्न बाँकी धेरै रहेको बताए ।
कार्यक्रममा आफ्नो दुई दिने अनुभव बताउँदै रोँङ गाउँपालिका इलामका प्रमुख प्रकाशकीय अधिकृत विनोद चौहानले कार्यक्रम निकै प्रभावकारी भएको बताए । उनले धेरै कानुनी व्यवस्था, कानुनी अड्चन लगायतका विषयमा जानकारी हुनुका साथै योजना निर्माण गर्दा ध्यान दिनुपर्ने धेरै कुराहरु पुर्नताजकी भएको बताए । राष्ट्रिय तथा कोशी योजना आयोगले गर्न खोजेको काम कर्तव्यका कुराहरु जानकारी भएको बताउँदै उनले गरिरहेको कामलाई अझ व्यवस्थित तरिकाले काम गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे ।