विराटनगर, १ असार । प्रदेश १ सरकारले ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बराबरको चुनाव लक्षित बजेट ल्याएको छ । सरकारका तर्फबाट आज आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा बजेट प्रस्तुत गर्नु भएको हो ।
चुनावी सरकारले आगामी आर्थिक वर्ष २०७९-०८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट विनियोजन गरेको हो । प्रदेश सरकारले आन्तरिक राजस्व आम्दानीबाट ४ अर्ब ९८ करोड ४५ लाख र राजस्व बाँडफाँटबाट ११ अर्ब ८८ करोड १४ लाख प्राप्त हुने अनुमान गरेको छ । प्रदेश सरकारलाई संघबाट वित्तीय समानिकरण अनुदानमार्फत ९ अर्ब ८२ लाख र सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड, समपूरक अनुदान ९२ करोड र विशेष अनुदानमार्फत ४७ करोड ५० लाख प्राप्त हुने मन्त्री आङ्बोले बताउनु भयो ।
प्रदेश १ सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि ९० करोड रूपैयाँ विनियोजन गरेको उहाँको भनाइ छ । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा हाल ९० जना सांसद छन् । चुनावी सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि पनि ९० करोड नै विनियोजन गरेको हो । सो रकम स्थानीय तहमार्फत खर्च हुनेछ । प्रत्येक सांसदले १–१ करोड खर्च गर्न पाउने छन् । त्यसमा प्रदेश सांसदहरूको भूमिका समान हुने व्यवस्था सरकारले गरेको छ ।