
विराटनगर २३ फागुन । नेकपा एमालेमा संगठित भएको ३४ वर्षपछि अजम्वर राईले मोरङ अध्यक्षको जिम्मेवारी पाएका छन् । ०३६ सालदेखि कम्युनिष्ट आन्दोलनमा सहभागि हुँदै आएका उनले ०४७ साल संगठित सदस्यता पाएका थिए ।
०६५ बर्षिय राईले गाउँकमिटी सदस्य, सचिव, इलाका कमिटी सदस्य, इलाका कमिटी सचिव, क्षेत्रीय कमिटीको अध्यक्ष, क्षेत्रीय इन्चार्ज, जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य हुँदै अध्यक्षमा निर्वाचित भएका छन् ।
६५ वर्षीय राई हाल जिल्ला समन्वय समिति मोरङको प्रमुख छन् । ०३६ देखि ०४० सम्म सौठा माविमा शिक्षण गरेका उनले ४ वर्षको शिक्षण पेशापछि पूर्णकालिन सदस्य भएर पार्टी अविचलित रुपमा एमालेको सक्रिय राजनीतिमा छन् ।
२०४९ सालमा गाविस अध्यक्षमा निर्वाचित उनी ०५४ सालमा जिल्ला विकास समिति सदस्य भए । जनप्रतिनिधि र पार्टी संगठन दुवै जिम्मेवारीलाई सफलताका साथ पुरा गर्दै आएका राई ४ कार्यकाल जिल्ला कमिटी सदस्य भए । एमाले कोशी प्रदेश कमिटी सदस्य भएका उनी गत वर्ष सम्पन्न प्रदेश अधिवेशनमा कुनैपनि पदमा उम्मेदवारी दिएनन् ।
स्थानीय स्तरका सामाजिक संघ संस्था, साना किसान सहकारी लगायतमा रहेर सामाजिक क्षेत्रमा पनि उत्तिकै पहिचान बनाएका उनी २०६२–०६३ को जनआन्दोलन उनी उत्तिकै सक्रिय रुपमा लागेका थिए ।
पार्टी संगठनमा लामो अनुभव संगालेका राईले पार्टीलाई एक ढिक्का बनाएर लैजाने बताएका छन् । कसैलाई काखा–पाखा नगरि सवैको सल्लाह, सुझाव अनुसार अघि बढ्ने उनको प्रतिबद्धता छ । राईले भने,‘ सुझाव सल्लाह अनुशार नै अगाडी बढ्ने हो ।’