वर्षेनी ३५ हजार क्षयरोगी स्वास्थ्य संस्थामा सम्पर्कमा आउँदैनन्

विराटनगर २३ फागुन । क्षयरोग नियन्त्रणका लागि सरकारले चासो नदेखाउदा रोगीको दिनप्रतिदिन वृद्धि हुदै गएको सरोकारवालाहरुले बताउनु भएका छन् ।
नेपाल क्षयरोग निवारण संस्था मोरङले विहीबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा संस्थाका पदाधिकारीहरुले वर्षेनी मुलुकमा ३५ हजार क्षयरोगीहरु स्वास्थ्य संस्थामा सम्पर्कमा नआउदा मुलुकमा यसको सङ्ख्यामा वृद्धि हुने गएकोले यसमा आवश्यक अनुगमन गर्नुपर्ने सुझाव दिएका छन् ।

नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रिय महासचिव राजन श्रेष्ठले एक जना क्षयरोगीले १० जनालाई रोग सार्ने सक्ने जोखिम भएकाले सरकारले सहज उपचारको वातावरण बनाउनुपर्ने विचार राख्नु भयो ।
संस्थाका मोरङ सभापति घनश्याम राठीले नेपाल क्षयरोग निवारण संस्था विराटनगरमा रहेको १५ शैय्या क्षमताको डि आर होस्टललाई न्यूनतम ५० शैय्याको बनाउन सरकारले आवश्यक सहयोग उपलव्ध गराउन आग्रह गर्नु भयो ।

संस्थाका सचिव भविष श्रेष्ठले संस्थाले मोरङ शाखाले गुणस्तरीय प्रयोगशालाबाट सेवाप्रदान गर्नुका साथै मोरङ प्रदेशका विभिन्न १७ जिल्ला अस्पताल, स्वास्थ्य केन्द्र र चौकीमा आवश्यक अनुगमन र औषधिको व्यवस्थापन गरिरहेको जानकारी दिनुभयो ।

मुलुकमा क्षयरोग न्यूनिकरणका लागि लागि आवश्यक पूर्वाधारको अभावमा वर्षेनी १७ हजार विरामीहरुको मृत्यु भइरहेको सोही अवसरमा जानकारी दिइयो । नेपाल सरकारले सन् २०५० सम्ममा क्षयरोग निर्मुल गर्ने लक्ष्य लिएको छ ।