
विराटनगर २२ फागुन । अपाङ्गता भएका महिलाहरुमाथि हुने हिंसा न्युनीकरण गरि विकासको मूलप्रवाहीकरणमा ल्याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
११५ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशले आज विराटनगरमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा पहुँचका लागि सचेतना गोष्ठि कार्यक्रमका सरोकारवालाहरुले सो कुरामा जोड दिएका हुन । कार्यक्रममा नागरिक समाज, सरकार र कानुनी व्यवस्थाका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा जिल्ला न्यायाधिश पारशमणि पोखरेलले अपाङ्गता भएका व्यक्तिहरुका लागि भएका विद्यमान राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनहरु, वैतनिक वकिल र ओसीएमसीका काम, कर्तव्य र अधिकार, निशुल्क कानुनी परामर्शका लागि भएका कानुनी व्यवस्थाहरुबारे सहजीकरण गर्नु भएको थियो । अपाङ्ग महासंघ कोशी प्रदेश उपाध्यक्ष तथा राष्ट्रिय अपाङ्ग कोष सदस्य सचिव भीमा खतिवडाले अपाङ्गता भएका महिलाहरुको विकास प्रकृयामा भएका विद्यमान अवरोधहरु,भोग्नु परेका समस्या र राज्यले चाल्नुपर्ने कदमका विषयमा सहजीकरण गर्नु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय महिला सेल प्रमुख प्रहरी निरीक्षक रचिता चौधरी यादवले अपाङ्गता भएका महिलाहरुको न्यायिक निरुपणका लागि पहुँचको अवस्था र प्रहरीद्धारा महिला हिंसा नियन्त्रणका लागि गरिएका प्रयासहरुबारे सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा झापा, मोरङ र सुनसरीका विभिन्न संघ संस्थाका ३५ जना अधिकारकर्मीहरुको सहभागिता रहेको राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशका कार्यक्रम संयोजक सरोज नेपालीले जानकारी दिनुभयो ।