
विराटनगर २२ फागुन । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना जारी छ ।
पार्टी कार्यालय पाञ्चालीमा दिउँसो ३ वजेदेखि शुरु भएको मतगणनाको पदाधिकारी तर्फको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । पदाधिकारी तर्फ १८८ मतगणनाको नजिता सार्वजनिक हुँदा पदाधिकारीमा संस्थापन इतर समूहले अग्रता लिएको छ ।
संस्थापन इतर समूहबाट अध्यक्षमा उम्मेदवारी दिनुभएका अजम्वर राईले ९८ मत ल्याउनु भएको छ । उहाँलाई पार्टी संस्थापन समूहबाट अध्यक्षमा उम्मेदवारी दिनुभएका राजकुमार ओझाले ८४ मतका साथ पछ्याईरहनु भएको छ ।
उपाध्यक्षमा संस्थापन इतर समूहका सागर थापाले ९८, सचिवमा सोमराज थापाले ९६, उपसचिवमा सन्तोष बान्तबा राईले १०५ र उषा झाले ९३ मत ल्याउनु भएको छ । संस्थापन समूहबाट उपाध्यक्ष उम्मेदवार शान्ति लिम्वुले ७७, सचिव रविन थापाले ७८, उपसचिव इर्जालाल राजवंशीले ६८ र शिल्पा निराला कार्कीले ८२ मत ल्याउनु भएको छ । अहिले सदस्यहरुको मतगणना भईरहेको छ । निर्वाचन कमिटी र अध्यक्ष मण्डलवीच एउटा मतपेटिकामा खसेको मतको गणना सकेर अर्को मतपेटिका खोल्ने सहमति छ ।
मत पेटिकामा पदाधिकारी, क्लष्टर र भूगोल सवैको मत खसालिएको छ ।
निर्वाचनमा ९११ प्रतिनिधि मध्ये ८८८ ले मतदान गरेका थिए ।